राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन-३ बाट उम्मेदवार बनाएको दाबी गरेका छन् । चितवन-३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले चितवनबाट भएको क्रान्तिलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाएको बताएका हुन् । उक्त निर्णय सिंगो पार्टीको नै रहेको उनले जानकारी दिएका छन् ।
सोविता एउटा नाममात्रै नभइ अहिलेको पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको रविको भनाइ छ । साथै, सम्बोधनको क्रममा लामिछानेले यसपटक मत बदल्ने बेला आएको पनि बताए । ‘यसपटक परिणाममा बदल्ने बेला आएको छ । जसरी अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर हुर्काउनुभयो । मेरो के नाता थियो र तपाईंहरूसँग,’ उनले भने, ‘आशिर्वाद दिनका लागि घरमा छोराछोरी नातीनातीना सबै थिए ।
तर यो छोरालाई जुन माया दिनुभयो । म कालकोठरीमा पर्दा आँशु बगाउनुभयो । अन्याय पर्यो भन्दा हस्ताक्षर गरिदिनुभयो । म ऋणि छु । कसरी तिर्छु थाहा छैन । म सँग बाँकी केही छैन, सत्य छ इमान छ । त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् लिएर जानेछु ।’


















