यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री हटाइएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको हो ।प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको हो । निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री आफैँ हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँले शुक्रबार करिब २० हजार प्रचार सामग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

















