जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मङ्गलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ ।चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार नागरिक र सैन्य दुवै प्रयोजनमा प्रयोग गर्न सकिने सामग्री अब ती २० कम्पनीलाई बेच्न पाइने छैन । विदेशी संस्था वा व्यक्तिलाई समेत चीनमा उत्पादित त्यस्ता सामग्री ती सूचीकृत कम्पनीलाई उपलब्ध गराउन रोक लगाइएको जनाइएको छ ।

प्रतिबन्ध सूचीमा परेका कम्पनीहरूमा जहाज निर्माण, विमान इन्जिन तथा समुद्री मेसिनरी उत्पादनमा संलग्न मित्सुबिशी हेवी इन्डस्ट्रिजका सहायक कम्पनीहरू, कावासाकी हेभी इन्डस्ट्रिज तथा फुजिट्सुका केही डिभिजनहरू समावेश छन् । निगरानी सूचीमा राखिएका कम्पनीसँग कारोबार गर्न चाहने चिनियाँ निर्यातकर्ताले व्यक्तिगत इजाजतपत्रका लागि आवेदन दिनुपर्नेछ र जोखिम मूल्याङ्कन प्रतिवेदनसहित जापानी सेनाले ती सामग्री प्रयोग नगर्ने लिखित प्रतिबद्धता पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त सूचीमा सुबारू कर्पोरेसन, मित्सुबिशी मटेरियल्स कर्पोरेसन र इन्स्टिच्युट अफ साइन्स टोकियो जस्ता संस्थाहरू रहेका छन् ।

चिनियाँ पक्षले यी कदमलाई जापानको पुनः सैन्यीकरण र सम्भावित आणविक महत्त्वाकांक्षाप्रति चासो व्यक्त गर्दै ‘पूर्ण रूपमा वैध, उचित र कानूनी’ उपाय भएको दाबी गरेको छ । मन्त्रालयले यी निर्णय केवल सीमित सङ्ख्याका संस्थालाई लक्षित गरिएको र सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा असर नपर्ने स्पष्ट पारेको छ । यो निर्णयलाई गत नोभेम्बरमा जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानको सुरक्षासम्बन्धी सम्भावित अवस्थाबारे व्यक्त गर्नुभएको धारणा पश्चात् विकसित हुँदै आएको द्विपक्षीय संवेदनशीलताको निरन्तरताका रूपमा हेरिएको छ ।