मलाई चितवन–३ सँग जोड्नु रेणुमाथि अन्याय होः दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन्।
आफू चितवन–३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको बताएका हुन्। दाहालले निर्वाचन प्रक्रिया सुरु भएदेखि आफू चितवन–३ मा नगएको स्पष्ट पारे।

चितवन–३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार रेणु दाहालमाथि अन्याय हुने उनको भनाइ थियो। उनले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रुपमा बहस चलिरहेको बताए। रेणु दाहालले विगत ९ वर्षमा गरेको काम नै उनको प्रचारको मुख्य आधार भएको दाहालले बताए।

उनले भने, ‘रेणु दाहालले त्यहाँ ९ वर्षमा गरेको काम नै उनको लागि प्रचारको मुख्य आधार भएको कुरा मलाई लाग्छ, तपाईंहरुले देखिराख्नु भएको छ। त्यसकारण मलाई लगेर त्यहाँ जोड्नु जबर्जस्ती गलत हुन्छ। ममाथि अन्याय हो, त्यो रेणुमाथि पनि अन्याय हो। रेणुले गरेको कामप्रति पनि अन्याय हो भन्ने लाग्छ।’

दाहालले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताए।