गगन थापाको आह्वान: सामाजिक सञ्जालभन्दा घरदैलोमा केन्द्रित हुनुस्

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता-कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् । रूपन्देहीको बुटवलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता-कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् । ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ- केही दिनमात्र बाँकी छ ।

नअलमलिनुस् कोही पनि साथीहरू । घर-घर जानुस, ‘सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’ सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता/कार्यकर्ताहरूलाई चुनाव प्रचार-प्रसारका लागि घर-घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए ।

उनले पार्टीका नेता/कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरेका छन्। सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए ।

‘संसार भर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं- तपाईंहरूको सहयोग चाहिएको छ । तपाई-हामी मिलेर एउटा ताकत बनाउनुपर्ने छ,’ उनले भने । सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताएका छन् ।