skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रियसभा सदस्यको शपथ फागुन २५ मा

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित १८ जनाको पद तथा गोपनीयताको शपथ फागुन २५ गते हुने भएको छ। संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजना हुनेछ। सचिवालयले शपथ समारोहमा सहभागी हुने सदस्यहरूलाई औपचारिक वा सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरेको छ।

साथै निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित भएको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि एक–एक प्रति अनिवार्य रूपमा साथमा ल्याउन सूचित गरिएको छ। निर्वाचित सदस्यहरूमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा. प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी रहेका छन्।

शपथसँगै उनीहरू औपचारिक रूपमा राष्ट्रियसभाको सदस्यको हैसियतमा कार्यभार सम्हाल्नेछन्।

s