पराजयपछि गुरुराज घिमिरेले भने-मतदाताको निर्णय सम्मान गर्छौं

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई नेपाली कांग्रेसले सम्मान गर्ने बताएका छन् । मोरङ-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका घिमिरेले आफूले पराजय व्यहोरेपछि निर्वाचन प्रक्रिया सम्पन्न हुनु र नतिजा आउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका हुन् । घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश राख्दै भनेका छन्, ‘लोकतान्त्रिक शासन प्रणालीमा निर्वाचित परिणामलाई सहज रूपमा स्वीकार्नुपर्छ। लोकतन्त्रवादीहरूले आफ्नो व्यवहारले आफू लोकतान्त्रिक र प्रजातान्त्रिक भएको कुरालाई सिद्ध गर्नुपर्छ ।’

घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीसँग पराजित भएका थिए । उनले निर्वाचनमा मतदाताले व्यक्त गरेको अभिमतलाई कांग्रेसले सधैँ सम्मान गरेको पनि बताए । घिमिरेले आफूले यो क्षेत्रबाट गर्ने सहयोग निरन्तर जारी रहने बताए । घिमिरेले पार्टीभित्र आपसी समन्वय र सहमति कायम गरी अगाडि बढ्न पनि आग्रह सबैमा आग्रह गरे । उनले समान व्यवहार र योग्यतालाई उच्च मूल्याङ्कन गरिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन् ।