तेहरान । इरान र अमेरिकाबिचको सैन्य तनावले नयाँ र खतरनाक मोड लिएको छ। खाडी क्षेत्रमा अमेरिकी सेनाको ठुलो परिचालन र इरानी टापुहरूमा सम्भावित कब्जाको सूचनाले पश्चिम एसियामा थप भीषण युद्धको बादल मडारिन थालेको हो।
इरानका वरिष्ठ अधिकारीहरूले आफ्ना शत्रुहरूले कुनै क्षेत्रीय देशको सहयोगमा इरानी टापु कब्जा गर्ने योजना बनाएको दाबी गर्दै त्यस्तो प्रयास गरिए सम्बन्धित देशको ‘महत्त्वपूर्ण पूर्वाधार’ माथि निरन्तर र निर्मम आक्रमण गर्ने चेतावनी दिएका छन्।
इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिँदै इरानी सेनाले शत्रुको हरेक गतिविधिलाई नजिकबाट नियालिरहेको बताएका छन्। उनले कुनै पनि क्षेत्रीय शक्तिले इरान विरुद्धको सैन्य अभियानमा सहयोग गरेमा त्यसको मूल्य भयानक हुने स्पष्ट पारेका छन्।
विश्लेषकहरूका अनुसार गालिबाफको यो सङ्केत विशेष गरी संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ लक्षित छ, जसले रणनीतिक महत्त्वको खार्ग टापु कब्जा गर्न अमेरिकालाई सहयोग गर्न सक्ने आशङ्का इरानले गरेको छ।



















