मनसुनअघि विपद् तयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

गृहमन्त्री सुधन गुरुङले मनसुन सुरु हुनुअघि नै विपद् जोखिम न्यूनीकरणका लागि सम्पूर्ण तयारी पूरा गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षणका क्रममा उनले पूर्वतयारीलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन्। निरीक्षणका क्रममा प्राधिकरणका अधिकारीहरूले उपलब्ध स्रोत-साधन, जनशक्ति र हालसम्म भएका तयारीबारे जानकारी गराएका थिए। त्यसपछि मन्त्री गुरुङले मनसुनअघि नै प्रभावकारी योजना र समन्वयका साथ काम गर्न आग्रह गरे। उनले समयमै तयारी गरे प्राकृतिक विपद्बाट हुने धनजनको क्षति न्यून गर्न सकिने स्पष्ट पार्दै नेपालजस्तो उच्च जोखिमयुक्त देशमा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए।

साथै, दीर्घकालीन समाधानका लागि विपद् जोखिम न्यूनीकरणसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्ने पहल भइरहेको जानकारी पनि दिए। आफू लामो समयदेखि यस क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनले अहिले जिम्मेवारीको भूमिकामा रहेर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। नागरिकको ज्यान जाने अवस्था अन्त्य गर्ने लक्ष्यसहित सरकारले नयाँ ढंगले तयारी अघि बढाउने उनको भनाइ छ।