गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको पहिलो सातामा गृह मन्त्री सुधन गुरुङले उच्चस्तरीय कारबाहीमा तीव्रता देखाएका छन् । एक साताभित्र सात उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन, जसले सुरक्षा र कानून प्रवर्तन क्षेत्रमा नयाँ छवि प्रस्तुत गरेको छ । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टै, शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परे । उनीहरूमाथि २३ र २४ भदौको जेनजी आन्दोलनसँग सम्बन्धित ज्यान मुद्दामा अनुसन्धान भइरहेको थियो। आयोगको प्रतिवेदन कार्यान्वयनको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
त्यसैदिन, नेकपा एमालेका कर्णबहादुर मल्ललाई बलात्कारको आरोपमा पक्राउ गरिएको थियो । मुगुको सोरु गाउँपालिका-१० का मल्ल हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्दै आएका ५२ वर्षका व्यक्ति हुन् । पीडित महिलाले फागुन ५ गते उजुरी दिएकी थिइन् । १५ चैतमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परेका छन् । उनको निवासबाट बरामद भएको रकमको अनुसन्धान अघि बढाउन सीआईबीले कदम चाल्यो । जेनजी आन्दोलनको क्रममा खड्काको घरमा तोडफोड र आगजनी हुँदा जलेको नोट र सार्वजनिक भिडियोका विषयमा समेत अनुसन्धान भइरहेको छ ।
त्यसै राति, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा बालश्रम शोषणको आरोपमा पक्राउ परिन्। बालिकालाई घरमा राखेर कुटपिट गर्ने घटनामा महानगरपालिकाको कार्यदलले बालिकालाई उद्धार गरी संरक्षण गृहमा राखेको थियो । १७ चैतमा जेनजी आन्दोलनसँग सम्बन्धित तत्कालीन काठमाडौंका सीडीओ छविलाल रिजाल पक्राउ परे। उनले आन्दोलनमा रबरको गोली प्रयोग आदेश दिएका थिए, तर सरकारी वकिल कार्यालयको हाजिरी जमानीमा उनी रिहा भएका छन् ।
अन्त्यमा, १९ चैतमा व्यवसायी दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तर्गत पक्राउ गरिएको छ । सीआईबीले उनलाई पक्राउ गरेको हो भने अध्यागमन विभागले पासपोर्ट रोक्का राखेको छ । सुधन गुरुङको नेतृत्वमा गृह मन्त्रालयले पहिलो सातामा देखाएको सक्रियता, उच्चपदस्थ व्यक्तिहरूको कारबाहीमार्फत कानुन र व्यवस्था कायम गर्न नयाँ दिशानिर्देश दिएको छ ।


















