सुरुङमार्ग प्रयोग गर्न कति तिर्नुपर्छ ? सरकारले तोक्यो दर

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गर्दै सार्वजनिक गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले सुरुङमार्ग प्रयोगबापत लाग्ने दस्तुरको दर तय गरिएको जानकारी दिएको हो ।

सरकारले सडक बोर्ड ऐन, २०५८ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै यसअघि मन्त्रिपरिषद्बाट गरिएको निर्णयका आधारमा शुल्क दर लागू गर्न लागेको हो । मन्त्रिपरिषद्ले गत साउन २६ गते नै शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो, जसलाई अब औपचारिक रूपमा राजपत्रमार्फत सार्वजनिक गरिएको हो । नयाँ दरअनुसार हलुका सवारीसाधन-जस्तै कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसका लागि काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, मिनीबस तथा मिनी ट्रकरटिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ निर्धारण गरिएको छ । ठूला सवारीसाधनतर्फ बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।