शीतभण्डार निर्माणमा अनियमितता, तत्कालीन प्रदेश सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५, सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याएको आरोपमा लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीविरुद्ध मुद्दा दायर भएको छ ।

लुम्बिनीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव अधिकारीसहित १६ जना र एक निजी कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

उनीहरूमाथि गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा वास्तविक कामको परीक्षण नगरी ७१ लाख ९७ हजार ९८० रूपैयाँ ६ पैसा भुक्तानी गरेर हिनामिना गरेको आरोप छ । आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ अन्तर्गत सञ्चालन गरिएको शीतभण्डार निर्माण अनुदान कार्यक्रममा गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी रकम भुक्तानी लिइएको पाइएको छ ।

आयोगका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत खुला प्रतिस्पर्धाविना सोझै खरिद गरी, गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलको आधारमा रकम भुक्तानी गरिएको थियो । हाल उक्त शीतभण्डार अपूर्ण, जीर्ण र कुनै पनि प्रयोजनका लागि उपयोग गर्न नसकिने अवस्थामा रहेको अख्तियारले जनाएको छ । यस क्रममा अस्वाभाविक लागत अनुमानसहितको डीपीआर स्वीकृत गराई सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धाबिना सोझै खरिद प्रक्रिया अघि बढाएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

मुद्दा दायर गरिएका सरकारी अधिकारीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारी, तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली र तत्कालीन कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली रहेका छन् । त्यसैगरी, तत्कालीन लेखा अधिकृत लक्ष्मण पौडेल र तत्कालीन सह–लेखापाल अजय मिश्रविरुद्ध ७१ लाख ९७ हजार ९८० रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरिएको छ ।

परामर्श तथा नापजाँचको जिम्मा पाएको ‘मेगा माइन्ड्स आर्किटेक्ट्स एन्ड स्ट्रक्चर प्रालि’का सञ्चालक सुगम कोइरालाविरुद्ध पनि सोही बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको छ । यसका साथै, निर्माणमा संलग्न भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलगायत विभिन्न ९ वटा सहकारीका तत्कालीन अध्यक्ष तथा व्यवस्थापकहरू अशोक कुमार तिवारी, जयराम गडेरिया, अशोक कुमार त्रिपाठी, दुर्गाप्रसाद कुर्मी, जितेन्द्र यादव, कृष्णकुमार सिंह, फुलमन भर र ओम प्रकाश गुप्ताविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले यस प्रकरणमा संलग्न भई मृत्यु भइसकेका मर्चवारी स्वावलम्बन बचत तथा ऋण सहकारीका तत्कालीन अध्यक्ष स्व. श्याम सुन्दर यादव र जन उत्थान स्वावलम्बनका तत्कालीन अध्यक्ष स्व.कतबारू गोसाईंको हकमा भने कानुनबमोजिम बिगो असुलउपर गर्न उनीहरूका श्रीमतीहरू क्रमशः इनरावती यादव र राजपति गोसाईंलाई प्रतिवादी कायम गरेको छ ।

कुल लागत ५ करोड ४३ लाख ७९ हजार ९३९ रूपैयाँ रहेको उक्त परियोजनामा मन्त्रालयले ७५ प्रतिशत (४ करोड ७ लाख ८४ हजार ९५४ रूपैयाँ) र सहकारी संस्थाहरूले २५ प्रतिशत (१ करोड ३५ लाख ९४ हजार ९८४ रूपैयाँ) व्यहोर्ने गरी २०७६ सालमा सम्झौता भएको थियो । अख्तियारले सबै प्रतिवादीविरुद्ध प्रचलित कानुनबमोजिम सजाय मागदाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।