संसदीय समितिका सभापतिहरू चयन प्रक्रिया अघि बढ्दै गर्दा विपक्षी दलहरूबीच रणनीतिक छलफल सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित विपक्षी गठबन्धनले संयुक्त बैठक गरी सभापति पदमा उम्मेदवारी दिने-नदिने विषयमा आन्तरिक छलफल थालेका हुन्।
बैठक सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ। बैठकमा विपक्षी दलका नेताहरू अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल, भीष्म आङदम्बेलगायतको उपस्थिति रहेको छ। सहभागी एक नेताका अनुसार, समितिहरूमा उम्मेदवारी दिने पक्षमा मत बलियो देखिएको छ, यद्यपि अन्तिम निर्णय बैठकले गर्नेछ।
आजै संसदीय समितिका सभापतिका लागि मनोनयन दर्ता हुने कार्यक्रम छ। संघीय संसद सचिवालय का अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। दर्ता प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ भने साढे ४ बजे उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिनेछ। हाल संघीय संसदअन्तर्गत १६ वटा संसदीय समिति रहेका छन्, जसमा प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रिय सभाअन्तर्गत ४ र दुई वटा संयुक्त समिति छन्। राष्ट्रिय सभाका समितिहरूका सभापति चयन भइसकेका छन् भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापति चयन प्रक्रिया जारी छ।
यसअघि चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूका सदस्यहरू टुंग्याएको थियो। त्यसलगत्तै सभामुख डोलप्रसाद अर्याल ले आगामी शुक्रबारका लागि सभापति निर्वाचनको मिति तोकेका थिए।विपक्षी दलहरूको आजको छलफलले समितिहरूको नेतृत्वमा शक्ति सन्तुलन कस्तो रहने भन्ने संकेत दिने अपेक्षा गरिएको छ।
















