राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिले पार्टीभित्रको विवाद चर्किएपछि दुई जना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। बुधबार बसेको समितिको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई ७२ घण्टाभित्र लिखित जवाफ दिन निर्देशन दिएको हो। बैठकको अध्यक्षता पार्टी उपाध्यक्ष तथा अनुशासन समिति अध्यक्ष रोशन कार्कीले गरेकी थिइन्।अनुशासन समितिका अनुसार ती दुवै नेताले प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको समानुपातिक सूचीविरुद्ध गतिविधि गरेको, केन्द्रीय कार्यालयमै धर्ना बसेर ‘भ्रम सिर्जना’ गरेको तथा आन्तरिक विषय बाहिर लगेर प्रहरी र अदालतसम्म पुर्याएको आरोप लागेको छ। यसलाई पार्टी हितविपरीत कदमका रूपमा लिइएको समितिले जनाएको छ।
यसबाहेक, केही महिला नेताहरूमाथि व्यक्तिगत लाञ्छना लगाएको आरोप पनि उनीहरूमाथि लागेको छ। उनीहरूले बागमती प्रदेश सांसद कुमारी मोक्तान, अन्जु सुवेदीलगायत ६ जना नेताविरुद्ध उजुरी दिएको विवरणसमेत समितिले सार्वजनिक गरेको छ। यसअघि समानुपातिक सूचीमा सरस्वती लामा लगायतका नाम समावेश गरिएको विषयमा असन्तुष्टि जनाउँदै उनीहरू पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसनमा बसेका थिए। उनीहरूले सूचीमा परिवारवाद र अवसरवाद हावी भएको आरोप लगाएका थिए।
राप्रपाले निर्वाचन आयोग मा बुझाएको सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा र नेता खुश्बु ओलीको नाम समावेश भएपछि विवाद चुलिएको थियो। यी दुवै नेता हाल समानुपातिकतर्फबाट सांसद रहेका छन्। अनुशासन समितिको पछिल्लो निर्णयसँगै राप्रपाभित्रको आन्तरिक विवाद अझै सतहमा आएको देखिएको छ।
















