गृहमन्त्रीमाथि प्रश्न उठाउँदै एमाले सचिव बस्नेतको कडा प्रतिक्रिया

नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङले तत्काल पदबाट राजीनामा दिएर छानबिनको दायरामा आउनुपर्ने माग गरेका छन्। सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएको सन्दर्भमा बस्नेतले उनको राजीनामा आवश्यक रहेको बताएका हुन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बस्नेतले गृहमन्त्रीको सम्भावित आपराधिक पृष्ठभूमिबारे प्रश्न उठाउँदै यदि राजीनामा नदिए थप प्रमाणस्वरूप भिडियो फुटेजसमेत सार्वजनिक हुन सक्ने दाबी गरेका छन्। उनका अनुसार ढिलो-चाँडो गुरुङको पद रहने सम्भावना छैन। बस्नेतले व्यवसायी दिपक भट्टलाई लिएर फैलाइएका विभिन्न राजनीतिक आरोपहरू पनि गलत सावित भएको दाबी गरेका छन्। उनका अनुसार अनुसन्धानका क्रममा भट्टको सम्बन्ध प्रमुख राजनीतिक नेताहरूसँग जोडिएको प्रमाण नदेखिए पनि गृहमन्त्री गुरुङसँग भने आर्थिक सेयर सम्बन्ध रहेको तथ्य बाहिर आएको छ।

उनले कार्की आयोगका सदस्य विज्ञान राज शर्मासँग सम्बन्धित सेयर लगानीबारे पनि प्रश्न उठाउँदै सबै विषय अन्ततः न्यायालयको निर्णयमा निर्भर रहने उल्लेख गरेका छन्।