इराकमा सक्रिय एक सशस्त्र समूहका नेताको खोजीलाई तीव्र बनाउँदै अमेरिकी विदेश मन्त्रालयले ती नेताको बारेमा विश्वसनीय सूचना दिने व्यक्तिलाई एक करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ ।
तेहरान समर्थित मानिने उक्त समूह कातेब सैयद अल–शुहादा (केएसएस)का नेता हाशिम फिन्यान रहिम अल–सराजीबारे सूचना सङ्कलन गर्ने उद्देश्यले यो कदम चालिएको हो । अल–सराजीलाई अबु अला अल–वलाई पनि भनिन्छ ।
अमेरिकी विदेश मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सामाजिक सञ्जाल सन्देशमार्फत अल–सराजीको गतिविधि, स्थान तथा पहिचानबारे जानकारी उपलब्ध गराउने व्यक्तिले स्थानान्तरण र पुरस्कारको अवसर प्राप्त गर्न सक्ने बताएको छ ।
उनको नेतृत्वमा रहेको समूहले इराकी नागरिकमाथि आक्रमण गरेको, साथै इराक र सिरियामा अमेरिकी कूटनीतिक संरचना तथा सैन्य अड्डा र कर्मचारीमाथि आक्रमण गरेको आरोप लगाइएको छ ।


















