राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई डर र त्रासमा नपर्न आग्रह गरेको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीतिगत सुधार गर्ने रहेको स्पष्ट पारे ।
सभापति लामिछानेले सरकारको सुशासन अभियानमा साथ दिन आग्रह गर्दै सरकार उद्योगी व्यवसायीसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताए । यद्यपि, अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिमा भने राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ थियो । विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्ति केन्द्रको दबाबमा परेका घटनालाई सरकारले आत्मसात् गरेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था नदोहोरिनेमा ढुक्क हुन आश्वस्त पारे ।
व्यवसायीको मनोबल खस्किएको चर्चा चल्न थालेपछि आफूले छलफल अगाडि बढाएको बताउँदै उनले भने, “तपाईंहरू अलिकति पनि चिन्ता नगर्नुहोस् । सुशासनको एजेन्डालाई द्रुत गतिमा अगाडि बढाउँदा केही प्रश्न उठेका हुन सक्छन्, त्यसलाई सहज रूपमा लिनुहोला । सरकारको उद्देश्य कुनै पनि व्यवसायीलाई धराशायी बनाउने छैन ।”
उनले अर्थतन्त्रलाई नै सिध्याउने गरी भएका संस्थागत बेथितिमा भने राज्य निर्मम हुनुपर्ने उल्लेख गरे । “विगतमा राजनीतिक अस्थिरताका कारण तपाईंहरू नेताका ढोका ढक्ढक्याउन र कतिपय मूल्य–मान्यता मिच्न बाध्य भयो होला, त्यो हामीले बुझेका छौँ,” लामिछानेले भने, “अब निर्धक्क हुनुहोस्, कुनै पनि व्यवसायीले मेरो घर वा पार्टी कार्यालय धाइरहनु पर्दैन । तपाईंहरूलाई नीतिले नै सुरक्षा दिनेछ ।”
सभापति लामिछानेले वर्तमान सरकार निर्वाचनका बेला जनतामाझ गरिएको वाचापत्रका आधारमा सञ्चालन हुने दाबी गरे । उनले उद्योगीलाई आफ्ना कमीकमजोरी मूल्याङ्कन गर्न र आन्तरिक लेखापरीक्षण गरी विगतका गल्ती सच्याउन राज्यसँग सहकार्य गर्न सुझाव दिए ।
नीतिगत सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उनले ५–७ वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए । सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेकोले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न उनले आह्वान गरे ।


















