चन्द्रागिरि नगरपालिका वडा नं. १०, सतुङ्गलमा अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रम बैशाख २२ गते सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरणमा नियो चाइल्ड केयर सेन्टर, बालुवाटारका वरिष्ठ फिजियोथेरापिस्ट समिद कतिला श्रेष्ठले सहभागीहरूलाई अटिजम सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुभएको थियो।
दोस्रो चरणमा अपाङ्गता सहायक सामग्री वितरणको औपचारिक कार्यक्रम अपाङ्गता–अभिभावक समाज नेपालका अध्यक्ष टेक बहादुर बमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा नं. १० का वडा अध्यक्ष शिवकुमार महर्जन रहनुभएको थियो। विशेष अतिथिहरूमा वडा सदस्य भेषनाथ उपाध्याय, नियो चाइल्ड केयर सेन्टरका वरिष्ठ फिजियोथेरापिस्ट समिद कतिला श्रेष्ठ, सतुङ्गल स्वास्थ्य चौकी प्रमुख मेनुका रिजाल, अपाङ्गता क्षेत्रका समाजसेवी नीलकण्ठ पौडेल, संस्थाका पदाधिकारी, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरू गरी ३४ जनाको उपस्थिति रहेको थियो।
वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा ८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकताअनुसार सहायक सामग्री वितरण गरिएको थियो। जसअनुसार ह्विलचेयर २ जना, कमोड चेयर ५ जना, बैशाखी १ जना, थेरापी बल ४ जना, वाकर १ जना र अटिजम थेरापी शैक्षिक सामग्री २ जनालाई वितरण गरिएको थियो। सामग्री वडा अध्यक्ष शिवकुमार महर्जन र वडा सदस्य भेषराज उपाध्यायले हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष महर्जनले अपाङ्गता सहायक सामग्री वितरण कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिइने बताउँदै अपाङ्गता मैत्री कार्यक्रम र पूर्वाधार विकासमा वडा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा डे केयर र थेरापी सेन्टर सञ्चालनका लागि सार्वजनिक स्थानको खोजी गरी पहल गर्ने र अपाङ्गता लक्षित बजेट बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
वडा सदस्य भेषनाथ उपाध्यायले आफ्ना व्यक्तिगत अनुभव सुनाउँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि राज्यस्तरमै थप सुविधा आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी स्वास्थ्य चौकी प्रमुख मेनुका रिजालले अटिजम सम्बन्धी अभिमुखिकरणबाट महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो। समाजसेवी नीलकण्ठ पौडेलले अपाङ्गता सहायक सामग्री वितरणलाई सकारात्मक कदम भन्दै राज्यको बजेट न्यून र असमान वितरणका कारण समस्या समाधान हुन नसकेको टिप्पणी गर्नुभयो। साथै यस्ता सामग्री देशमै उत्पादन गर्ने व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो।
अभिभावक लक्ष्मण भट्टराईले आफ्ना अनुभव साझा गर्दै अपाङ्गता भएका व्यक्तिका अभिभावकहरू सचेत र सक्रिय हुनुपर्ने बताउनुभयो। संस्थाका अध्यक्ष टेक बहादुर बमले अपाङ्गता थेरापी सेन्टर र समावेशी विद्यालय स्थापना गर्न वडासँग समन्वय आवश्यक रहेको बताउँदै आगामी बजेटमा अपाङ्गता क्षेत्रलाई विशेष प्राथमिकता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष विनोद सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव भावना कुमारी ढकालले गर्नुभएको थियो।


















