२० हजार घुस लिएको आरोपमा सईविरूद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाँउका काठमाडौँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग रु २० हजार घुस लिएको पाइएको छ ।

आयोगले टोलीले घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।