मनसुन झन् अनिश्चित: पूर्वसूचना प्रणाली सुदृढ गर्न मन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा मनसुनको स्वरूप दिनप्रतिदिन अनिश्चित र अप्रत्याशित बन्दै गएको बताएका छन्।

शुक्रबार आयोजित राष्ट्रिय मनसुन फोरम २०२६ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विश्वसनीय मौसम पूर्वानुमान र प्रभावकारी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । मनसुन फोरम केवल मौसम पूर्वानुमान सार्वजनिक गर्ने कार्यक्रम मात्र नभई विज्ञान, विपद् पूर्वतयारी र विकास व्यवस्थापनलाई जोड्ने साझा मञ्च भएको उनले बताए। उनले पछिल्ला वर्षहरूमा मौसमसम्बन्धी सेवाको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै ‘सबैका लागि समयमै गुणस्तरीय र विश्वसनीय जल तथा मौसम सेवा’ उपलब्ध गराउने लक्ष्य हासिल गर्न अझ धेरै काम गर्नुपर्ने बताए।

मन्त्री श्रेष्ठका अनुसार मौसम सेवाको गुणस्तर सुधार गर्न देशभर अवलोकन केन्द्र विस्तार, अनुसन्धान प्रवर्द्धन तथा आधुनिक प्रविधिमा आधारित स्थानीय पूर्वानुमान प्रणाली विकास आवश्यक छ। उनले एसएमएस, डिजिटल प्लेटफर्म र अन्य सञ्चार माध्यममार्फत मौसम सूचना जनस्तरसम्म छिटो पुर्‍याउनुपर्नेमा पनि जोड दिए। उनले मौसम तथा जलवायु सूचनाले विपद् जोखिम न्यूनीकरणसँगै कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार र ऊर्जा क्षेत्रलाई समेत प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। वर्षा र नदी प्रवाहको पूर्वानुमानले जलाशय व्यवस्थापन तथा विद्युत उत्पादन योजनामा सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा जल तथा मौसम विज्ञान विभाग ले यस वर्ष औसतभन्दा कम मनसुन र बढी सुख्खा हुने सम्भावना रहेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। विभागका अनुसार जेठ १८ देखि असोज १४ सम्म देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। विशेषगरी कर्णालीको दक्षिणी भाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेसको पूर्वी भूभाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा कम वर्षा हुने सम्भावना औंल्याइएको छ। साथै देशभर अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहने अनुमान गरिएको छ।