रविले भने– छाती त थापेकै छौँ, सबैलाई लालपुर्जा दिन्छौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्षौंदेखि दुःख पाएका सुकुम्बासीको स्थायी समाधान गर्न खोजेको बताएका छन् । पार्टीका सांसदको प्रशिक्षणको कार्यक्रममा बोल्दै उनले आयोग बनाएर सुकुम्बासीको समाधान गर्ने बताएका हुन् ।

कसैलाई पनि बेघरबार नछोड्ने भन्दै समाधानको लागि सरकारले काम गरिरहेको उनको भनाइ छ । उनले सुकुम्बासीका समस्या समाधान गर्न अझै पनि छाती थापिरहेको बताएका छन् ।

उनले सुकुम्बासीले अधिकार नपाएसम्म छाती नहटाउने स्पष्ट पारेका छन् । लामिछानेले आफ्नो कारणले यो समस्या खडा गरेको नभएर तीन दशकदेखि राजनीति गरिरहेका दलहरूले यो समस्या सिर्जना गरेको दाबी गरे ।

‘हामीले त सुकुम्बासी समस्या समाधान गर्दै छौँ । यो समस्यालाई पुराना राजनीतिक दलहरूले भोट ब्याङका रूपमा राखेका हुन,’ लामिछानेले भने, ‘हामी यो समस्या समाधान गर्ने काममा छौँ । अझै व्यवस्थित रूपमा गर्न सकिन्थ्यो होला, कुरा सही हो, तर हामी अहिलेसम्म थापिरहन्छौँ, छाती हटेको छैन ।’

उनले व्यावहारिक रूपमा यो समस्यालाई स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौंलगायत ठाउँमा केहीले राजनीतिक लाभ लिइरहेको समेत बताए । ‘हामीलाई मुर्दावाद भन्नुस्, केही छैन । तर, हामी अधिकार दिन्छौँ,’ उनले भने, ‘कुनै पनि नागरिकलाई घरबारविहीन पार्ने छैनौँ ।’