बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिएको छ ।

“तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भने, “तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।” ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरे ।

तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो । उनले विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको बताउनुभयो । विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीच प्रतिस्पर्धा अन्तत: युद्धमा परिणत हुनसक्ने खतरा औँल्याउँछ ।

सीले भने, “सहकार्यले दुवै पक्षलाई फाइदा पुर्‍याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्‍याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।”

सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आएको थियो । उनले ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्‍याएको थियो । तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा ट्रम्पको स्वागत अत्यन्त भव्य रूपमा गरिएको थियो । क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबीच दुवै नेताले एकअर्कासँग हात मिलाउनुभएको थियो । स्कुलका बालबालिकाले दुवै देशका झण्डा फहराउँदै स्वागत गरेका थिए ।

ट्रम्पले भ्रमणका क्रममा ‘टेम्पल अफ हेभन’ को अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । १५ औँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबीचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम छ ।

यद्यपि भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नजाने स्पष्ट पारेको छ । अमेरिकी प्रशासन चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे प्रतिबद्धता खोजिरहेको छ । साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।

तर इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान र इजरायलबीचको युद्ध तथा अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व बजारमा ऊर्जा सङ्कट निम्त्याएको छ । हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानीमा अवरोध पुगेको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा दबाब बढाएको छ ।

यही पृष्ठभूमिमा ट्रम्प र सीबीच इरानमाथि चीनले कस्तो भूमिका खेल्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिने बताएको छ । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “यो सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर भइरहेको छ । उपभोक्ताहरूले कम चिनियाँ वस्तु खरिद गरिरहेका छन् । त्यसैले यो समस्या समाधान हुनु चीनकै हितमा पनि छ ।”

रुबियोले चीनलाई पर्सियन खाडीमा इरानको गतिविधि नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिने बताए । उनले चीनले इरानलाई तनावबाट पछि हट्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।

तर ट्रम्पले भने अमेरिकी अर्थतन्त्रमा परेको दबाबले इरानप्रतिको आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारेको छ । ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा उनले भने, “म अमेरिकीहरूको आर्थिक अवस्थाबारे सोचिरहेको छैन । म एउटा मात्र कुरामा केन्द्रित छु – इरानलाई आणविक हतियार बनाउन दिन सकिँदैन ।” उनले हरेक अमेरिकीले यो अवस्था बुझ्ने दाबी पनि गरे ।

ट्रम्पको यही भनाइपछि उपराष्ट्रपति जेडी भान्सले भने राष्ट्रपतिका भनाइलाई फरक ढङ्गले व्याख्या गरिएको प्रतिक्रिया दिए । उनले ट्रम्पले अर्थतन्त्रलाई महत्त्व नदिएको अर्थ नलाग्ने दाबी गरे । भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी तथा व्यवसायीहरूको ठूलो समूह सहभागी छ । यसले भ्रमण केवल राजनीतिक मात्र नभई आर्थिक र रणनीतिक महत्त्वको रहेको सङ्केत दिएको छ ।

अमेरिका र चीन गत वर्ष व्यापार युद्धविराममा पुगेका थिए, जसले एकअर्कामाथि थप शुल्क लगाउने चेतावनीलाई केही समयका लागि रोकिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त सहमति विस्तार गर्ने विषयमा अझै छलफल भइरहेको छ । तर ट्रम्पको यो भ्रमणका क्रममा त्यसबारे कुनै ठोस घोषणा हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।