युद्धबीच नेतान्याहुको युएई भ्रमण दाबी, खाडी क्षेत्रमा नयाँ बहस

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमण गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको कूटनीतिक तथा सुरक्षा समीकरण फेरि चर्चामा आएको छ । इजरायलले उक्त भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको दाबी गरेको छ भने युएईले भने त्यस्तो कुनै गोप्य भेटवार्ता नभएको स्पष्ट पारेको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेतान्याहुले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ । विज्ञप्तिमा उक्त भेटले ‘इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धमा ऐतिहासिक उपलब्धि’ हासिल गरेको दाबी गरिएको छ ।

तर युएईले इजरायली दाबीलाई तत्काल अस्वीकार गरेको छ । युएईको सरकारी समाचार संस्था डब्लुएएमले प्रकाशित गरेको विवरणमा कुनै पनि गोप्य भ्रमण वा गैरऔपचारिक वार्ता भएको दाबी गलत रहेको उल्लेख गरिएको छ । डब्लुएएमले आफ्नो प्रतिवेदनमा भनेको छ, “इजरायलसँगको युएईको सम्बन्ध सार्वजनिक, औपचारिक र अब्राहम सम्झौताअनुसार सञ्चालन भइरहेको छ । यो कुनै अपारदर्शी वा गोप्य व्यवस्थामा आधारित छैन ।” युएईले आफ्नो भूमिमा इजरायली सैन्य प्रतिनिधिमण्डल उपस्थित भएको विषयलाई समेत अस्वीकार गरेको छ ।

यो विवादास्पद दाबी अमेरिकी राजदूत माइक हुकाबीले इजरायलले युएईमा आइरन डोम हवाई सुरक्षा प्रणाली र त्यसका कर्मचारी पठाएको खुलासा गरेको एक दिनपछि सार्वजनिक भएको हो । हुकाबीले इजरायलले युएईलाई इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट जोगाउन प्रतिरक्षा सहयोग उपलब्ध गराएको बताएको थियो ।

गत महिना युद्धविराम घोषणा भए पनि युएईले अझै इरानी ड्रोन र क्षेप्यास्त्र हमलाको जोखिम सामना गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताबीच युएईले आफू व्यापार र लगानीका लागि सुरक्षित रहेको सन्देश दिन खोजिरहेको विश्लेषण गरिएको छ ।

गत सातामात्र डब्लुएएमले नेतान्याहुले इरानी आक्रमणको निन्दा गर्दै खाडी राष्ट्रहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न युएईका राष्ट्रपतिलाई फोन गरेको समाचार सार्वजनिक गरेको थियो । सन् २०२० मा भएको अब्राहम सम्झौतामार्फत युएईले इजरायलसँग सम्बन्ध सामान्य बनाएको थियो । त्यसयता दुवै देशबीच सुरक्षा, व्यापार र प्रविधि क्षेत्रमा सहकार्य बढ्दै गएको छ । इजरायलले युद्धका कठिन समयमा पनि युएईसँगको सम्बन्ध थप बलियो बनेको सङ्केत दिन खोजेको देखिन्छ ।

तर इरानले अब्राहम सम्झौताप्रति सुरुदेखि नै आपत्ति जनाउँदै आएको छ । तेहरानले इजरायलले युएईमा सैन्य तथा गुप्तचर उपस्थिति विस्तार गरेको आरोप बारम्बार लगाउँदै आएको छ । सम्बन्ध सामान्यीकरणपछि पछिल्ला वर्षहरूमा इजरायली नेताहरूले पटक–पटक युएई भ्रमण गरेका छन् । यद्यपि युद्धको संवेदनशील अवस्थाबीच नेतान्याहुको कथित गोप्य भ्रमण सार्वजनिक हुनु क्षेत्रीय राजनीतिमा नयाँ बहसको विषय बनेको छ ।

यसैबीच, इरानले कुवेतसँग अर्को विवाद चर्काएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले कुवेतले चार इरानी नागरिकलाई पक्राउ गरेर ‘क्षेत्रमा कलह फैलाउने प्रयास’ गरेको आरोप लगाएको छ । उनले सामाजिक सञ्जाल एक्समार्फत ती इरानी नागरिकको तत्काल रिहाइ माग गर्दै इरानले आवश्यक परे जवाफ दिने अधिकार सुरक्षित राखेको चेतावनी दिए ।

अराघचीले लेखे, “यो गैरकानूनी कदम अमेरिकाद्वारा इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको टापु नजिक भएको हो ।” कुवेतले भने मे १ मा पर्सियन खाडीको उत्तरपश्चिम क्षेत्रमा रहेको बुबियान टापुमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गर्दा चार जनालाई पक्राउ गरिएको र दुई जना भाग्न सफल भएको जनाएको छ । कुवेती अधिकारीहरूले पक्राउ परेकाहरू इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित रहेको आशङ्का गरेका छन् ।

बुबियान टापु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यहाँ मुबारक अल कबीर बन्दरगाह निर्माणाधीन अवस्थामा छ । यो चीनको विश्वव्यापी पूर्वाधार परियोजनासँग जोडिएको छ । युद्धका क्रममा उक्त क्षेत्र इरानी आक्रमणको निशानामा समेत परेको थियो ।

इरानभित्र मानवअधिकारको विषय पनि फेरि चर्चामा आएको छ । चर्चित मानवअधिकार वकिल नसरीन सोतौदेहलाई पक्राउ गरेको एक महिनापछि जेलमुक्त गरिएको जानकारी अधिकारकर्मी र उनकी छोरीले दिएका छन् । सोतौदेहलाई अप्रिलमा तेहरानस्थित घरबाट इरानी गुप्तचर अधिकारीहरूले पक्राउ गरेका थिए । उनी विशेषगरी महिला अधिकार, कार्यकर्ता र विपक्षी राजनीतिकर्मीको पक्षमा कानूनी लडाइँ लड्दै आएको कारण चर्चित छन् ।

अमेरिकास्थित मानवअधिकार कार्यकर्ता समाचार एजेन्सीले उनलाई तेहरानको एभिन जेलबाट जमानतमा रिहा गरिएको जनाएको छ । उनकी छोरी मेहरावेह खान्डानले पनि सामाजिक सञ्जालमार्फत रिहाइको पुष्टि गरेको छ । इरानको अर्धसरकारी आइएसएनए समाचार एजेन्सीले समेत सोतौदेह रिहा भएको समाचार दिएको छ । सोतौदेह यसअघि पनि पटक–पटक जेल परिसकेको छ । उनका पति तथा मानवअधिकार कार्यकर्ता रेजा खान्डानले पनि विभिन्न अभियोगमा जेल सजाय भोगिरहेको छ ।

त्यसैगरी, नोबेल शान्ति पुरस्कार विजेता तथा मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीको स्वास्थ्य अवस्थालाई लिएर पनि चिन्ता बढेको छ । उनी जेलमा बेहोस भएपछि अस्पताल भर्ना गरिएको थियो । त्रिपन्न वर्षीया मोहम्मदी मे १ मा इरानको जेलभित्रै बेहोस भएपछि उत्तरपश्चिमी इरानको अस्पतालमा लगिएको थियो । पछि जमानतमा रिहा गरिएपछि उनलाई तेहरानको अस्पतालमा सारिएको थियो ।

उनको फाउन्डेसनका अनुसार विशेषज्ञ चिकित्सकहरूले मोहम्मदीको रक्तनलीसम्बन्धी रोग गम्भीर बन्दै गएको निष्कर्ष निकालेका छन् । चिकित्सकहरूले कम्तीमा आठ महिनासम्म नियमित उपचार आवश्यक पर्ने बताएका छन् ।

मोहम्मदीलाई सन् २०२३ मा जेलमै रहेका बेला नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनले वर्षौंदेखि महिला अधिकार, अभिव्यक्ति स्वतन्त्रता र मृत्युदण्डविरुद्ध अभियान चलाउँदै आएको छ ।

उनको पछिल्लो गिरफ्तारी गत डिसेम्बरमा उत्तरपूर्वी इरानको मशहाद सहरबाट गरिएको थियो । त्यसयता उनले फेरि जेल जीवन बिताइरहेको थियो ।