नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउने दिशामा नेतृत्व अघि बढिरहेको बताएका छन्।
काभ्रेको धुलिखेलमा सोमबार सुरु भएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले अबको राजनीतिक प्राथमिकता गुटको राजनीति तोडेर सबैलाई समेट्ने पार्टी निर्माण गर्नु रहेको बताएका छन्। शर्माले विशेष महाधिवेशनमा सहभागी भएकाहरूलाई मात्रै होइन, सहभागी नभएकाहरूलाई पनि क्रमशः जिम्मेवारीमा समेट्दै लगिने स्पष्ट पारे। उनका अनुसार यसले पार्टीभित्र एकता बलियो बनाउने र विभाजनको सम्भावना घटाउने उद्देश्य राखिएको हो। सदस्यता अद्यावधिक प्रक्रियाबारे बोल्दै उनले यसलाई अविश्वासको दृष्टिले नहेर्न आग्रह गरे। उनले भने, “गगन थापामाथि मात्र होइन, कुनै एक व्यक्तिमाथि होइन, आफ्नै वडाका पार्टी सभापतिमाथि विश्वास गर्नुपर्छ।”
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम केन्द्रीय नेताले होइन, वडा तहका पार्टी सभापतिहरूले गर्ने भएकाले स्थानीय संरचनामाथि भरोसा राख्नु आवश्यक छ। शर्माले वडा, पालिका र जिल्ला तहमा निर्वाचित पार्टी नेतृत्व नै यस प्रक्रियामा संलग्न हुने भएकाले शंका र अविश्वासको आवश्यकता नरहेको पनि जोड दिए।


















