नहुदा सेवाको चौथो विशेष साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिकका लागि चारवटा भवन निर्माण गर्ने योजना

काठमाडौं । ज्येष्ठ नागरिकहरूलाई सक्रिय, सम्मानित र सिर्जनशील जीवनयापनमा सक्षम बनाउने उद्देश्यसहित स्थापना गरिएको नहुदा सेवाले आफ्नो चौथो विशेष साधारण सभा यही २०८३ जेठ १७ गते सम्पन्न गरेको छ।

साधारण सभामा संस्थाको चारवर्षे यात्रा, उपलब्धि तथा आगामी योजनाबारे गहन छलफल र समीक्षा गर्दै लाकुरे भञ्ज्याङमा निर्माणाधीन ज्येष्ठ नागरिक सवलधाम निर्माणको भौतिक प्रगतिबारे पनि छलफल गरिएको थियो।

संस्थाका अध्यक्ष डा. दिनेशराज शर्मा काफ्लेको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक सदस्य, आजीवन सदस्य, संस्थागत सदस्य तथा आमन्त्रित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सभामा बोल्दै अध्यक्ष काफ्लेले नहुदा सेवा चार वर्षअघि ज्येष्ठ नागरिकहरूलाई सक्रिय र सामाजिक रूपमा उपयोगी जीवन बिताउने वातावरण सिर्जना गर्ने उद्देश्यका साथ स्थापना गरिएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकहरू केवल सामाजिक सुरक्षा भत्तामा सीमित नभई आफ्नो अनुभव, ज्ञान र क्षमतालाई समाज र नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्ने महत्वपूर्ण शक्ति भएको धारणा राख्नुभएको थियो।

कार्यक्रममा उपाध्यक्ष मुरारी विनोद पोखरेलले “शारीरिक रूपमा केही कमजोरी आए पनि ज्येष्ठ नागरिकको अनुभव र बौद्धिक क्षमता समाजका लागि बहुमूल्य सम्पत्ति हो” भन्दै त्यसलाई समुदायको हितमा उपयोग गर्न सके जीवन अझ अर्थपूर्ण र खुसीमय बन्न सक्ने तथा सोही उद्देश्यका साथ नहुदा सेवा अगाडि बढिरहेको बताउनुभयो।

सभामा संस्थाको दीर्घकालीन योजना अन्तर्गत जग्गा प्राप्ति र भवन निर्माण प्रक्रियाबारे पनि उहाँले जानकारी गराउनुभएको थियो। संस्थाले जग्गा प्राप्त गर्न कानुनी तथा प्राविधिक जटिलताका कारण करिब डेढ वर्ष प्रतीक्षा गर्नुपरेको उल्लेख गर्दै हाल उक्त जग्गा संस्थाको स्वामित्वमा आई भवन निर्माण जारी रहेको जानकारी दिनुभयो।

कार्यक्रममा इन्जिनियरडा. रंगराज ढुंगानाले प्रारम्भिक रूपमा करिब १०० जना सदस्यलाई समेट्न सक्ने संरचना निर्माण गर्ने योजना रहे पनि जग्गाको भौगोलिक बनोट तथा पहाडी भूभागका कारण नयाँ अवधारणा अघि सारिएको र प्राविधिक अध्ययनपछि ८० जना अट्ने चारवटा मुख्य भवन निर्माण गर्ने योजना तय गरिएको जानकारी दिनुभयो।

संस्थाका अनुसार प्रस्तावित भवनहरूले ज्येष्ठ नागरिकका लागि आवासीय, सामाजिक तथा विभिन्न सामुदायिक गतिविधि सञ्चालन गर्न सहज वातावरण प्रदान गर्नेछन्। भवन निर्माण योजना कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन तथा सहयोग जुटाउने विषयमा समेत सभामा छलफल भएको थियो। नहुदा सेवाले आगामी दिनमा ज्येष्ठ नागरिकको जीवनस्तर सुधार, सामाजिक सहभागिता अभिवृद्धि तथा सामुदायिक सेवामूलक गतिविधि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

विशेष साधारण सभाले संस्थाको भावी कार्यसमिति चयन गर्नुका साथै पूर्वाधार विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गरेको थियो। साधारण सभाले पुनः डा. दिनेशराज शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष मुरारी विनोद पोखरेल, सचिव शान्तालक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष रोशनी कर्माचार्य तथा सदस्यहरूमा डा. रंगराज ढुंगाना, विजय उपाध्याय, विष्णुप्रसाद श्रेष्ठ, राधा ज्ञवाली र जगदीशराज पोखरेल रहनुभएको छ।

सभामा मुरारी विनोद पोखरेल, हरिवोल आचार्य, रामप्रसाद श्रेष्ठ, रोशनी कर्माचार्य, जगदीश पोखरेल, राधा ज्ञवाली, पूजा काफ्ले, बाबुराजा महर्जन, मीना शर्मा, सीताकुमारी श्रेष्ठ, वसन्तध्वज श्रेष्ठ, सुदन सिंह बस्नेत, विश्वनाथ गोयल, विद्या पोखरेल, गुणराज काफ्ले, कुमुदराज काफ्ले, सुमित्रा शाक्य, चन्द्रशोभा शाक्य, मनोज गिरी, शीतल वैद्य प्रधान, हरिप्रसाद रेग्मी, सूर्य ताम्राकार, धुर्व सापकोटा, विष्णु श्रेष्ठ, वासु देवकोटा, शान्तालक्ष्मी श्रेष्ठ, रंगराज ढुंगाना, ज्योत्सना श्रेष्ठ, वसन्तध्वज श्रेष्ठ, सुभाष आचार्य, कल्पलता दाहाल, मणिराम घिमिरे, रामप्रसाद अधिकारी, सरिता काफ्ले, भानुप्रकाश ढकाल, मधुसुदन विष्ट, महेश बस्नेत, जमुना पौडेल कोइराला, रश्मि महर्जन, पञ्चकुमार श्रेष्ठ, रत्नशोभा शाक्य, मीना गुरुङ, किशोर गुरुङ, राजा कर्माचार्य, शरदबाबु श्रेष्ठ, राजन कर्माचार्य, शरद अर्याल, रूपा जोशी, विजयकृष्ण उपाध्याय, विष्णुप्रसाद श्रेष्ठलगायतको सहभागिता रहेको थियो।