अविश्वास प्रस्ताव कमजोर, मुख्यमन्त्री शाहको पद जोगियो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह तत्कालका लागि पदमा सुरक्षित भएका छन्। नेपाली काँग्रेसभित्र दर्ता गरिएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसद डम्मरी महराले आफ्नो समर्थन फिर्ता लिएपछि शाहको नेतृत्वलाई तत्काल कुनै खतरा नदेखिएको हो। महराले सरकार परिवर्तनभन्दा पार्टीभित्रको एकता र आगामी बजेट तयारीलाई प्राथमिकता दिनुपर्ने भन्दै हस्ताक्षर फिर्ता लिएको बताएकी छन्।

यसअघि नेपाली काँग्रेसका बहुमत सांसदहरूले मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा उक्त प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो। एक सांसदले समर्थन फिर्ता लिएसँगै हालको राजनीतिक समीकरणमा तत्कालका लागि मुख्यमन्त्री शाहको पद सुरक्षित बनेको छ।