विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक सूचना टाँसेर मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसकेपछि सूचना जारी गर्दै भोलिसम्मका लागि सारिएको हो। पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनाअनुसार अब प्रतिनिधिसभा बैठक मङ्गलवार दिउँसो १ बजे बस्नेछ ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले उक्त भनाइ संसद्को अभिलेखबाट हटाउन तथा प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग राखेका छन्।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको कार्यसूची अघि बढ्न नसकेको छ भने सदनको नियमित कामकारबाही प्रभावित बनेको छ। सरकार र विपक्षी दलबीच सहमति खोज्ने प्रयास जारी रहे पनि हालसम्म कुनै निष्कर्ष ननिस्किएकाले बैठक पुनः स्थगित गरिएको हो।