राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा छुट्टै जवाफ नदिने स्पष्ट पारेका छन्। सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमा विवाद परराष्ट्र मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले आवश्यक जवाफ सम्बन्धित मन्त्रालयबाटै आउने बताए। उनका अनुसार बैठकमा सभामुखले संसद्को अवरोध अन्त्य गर्न विपक्षी दलहरूलाई आग्रह गरेका थिए।
सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको र आवश्यक परे सदनमा पनि राख्न सकिने जानकारी दिइएको उनले बताए। महामन्त्री बुर्लाकोटीले प्रधानमन्त्री मातहत विभिन्न मन्त्रालय रहे पनि विषयगत जिम्मेवारी सम्बन्धित मन्त्रीकै हुने उल्लेख गर्दै मन्त्रीले दिएको जवाफ नै सरकार र प्रधानमन्त्रीको आधिकारिक धारणा हुने स्पष्ट पारे।
उनले संसद्को अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक प्रगति भएको दाबी गर्दै बैठकमा रास्वपा सभापति रवि लामिछाने ले हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराएको र उठेका जिज्ञासाको जवाफ दिने प्रयास गरेको बताए।


















