अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि थाँती रहेका आर्थिक र संरचनागत समस्या एकै बजेटमार्फत समाधान हुने अपेक्षा अव्यावहारिक हुने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेटप्रति अत्यधिक अपेक्षा र अतिरञ्जनाले वास्तविक अवस्था ओझेलमा पार्ने गरेको उल्लेख गरेका छन् । उनका अनुसार सरकारको बजेट संरचनाको करिब ७० प्रतिशत हिस्सा अनिवार्य खर्च, पूर्वनिर्धारित दायित्व र स्रोत व्यवस्थापनमै सीमित हुने भएकाले सबै समस्या समाधान गर्ने खालको नीति उपकरणका रूपमा बजेटलाई बुझ्नु गलत हो ।
मन्त्री वाग्लेले सीमित स्रोत, समयको दबाब र उच्च जनअपेक्षाबीच बजेट तयार गरिएको बताए। उनले कर प्रणालीको दायरा र संरचनामा विगत तीन दशकयताकै सबैभन्दा व्यापक सुधार प्रयास गरिएको दाबी गर्दै अझ परिपक्व ढंगले काम गर्न समय अभाव रहेको पनि स्वीकार गरे। सरकारले निर्वाचनअघि गरेको करभार घटाउने प्रतिबद्धतालाई बजेटमार्फत कार्यान्वयन गरिएको उल्लेख गर्दै उनले कर संरचनामा आवश्यक परिमार्जन गरिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले बजेटलाई अन्तिम समाधान होइन, आर्थिक सुधारको आधार तयार गर्ने दस्तावेजका रूपमा बुझ्नुपर्ने धारणा राखे। साथै, दिगो आर्थिक वृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुने भन्दै लगानी, उत्पादन र रोजगारी विस्तारमा सक्रिय हुन आग्रह गरे।


















