प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले देशका विभिन्न क्षेत्रमा रहेका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा पुगेको बताएका छन्। आवश्यक पूर्वाधार सुधारका लागि पर्याप्त बजेटको अभाव हुँदा पुनर्निर्माणको काम अघि बढ्न नसकेको उनले जानकारी दिए। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजिपी कार्कीले सीमावर्ती तथा उच्च संवेदनशील क्षेत्रका केही प्रहरी चौकीहरू भत्किने जोखिममा रहेको बताए। यस्ता संरचनामा कार्यरत प्रहरी कर्मचारीहरू असुरक्षित वातावरणमा सेवा दिन बाध्य भएको उनको भनाइ थियो। “कतिपय चौकीको अवस्था निकै नाजुक छ। संरचना नै भत्किने सम्भावना रहेकाले कुनै दुर्घटना हुने हो कि भन्ने चिन्ता छ,” कार्कीले बताए।
उनले संघीय मामिला तथा स्थानीय तहसँगको सहकार्यमा जीर्ण चौकीहरूको पुनर्निर्माण गर्न सके प्रहरी कर्मचारीहरूको कार्यक्षमता र मनोबल बढ्ने उल्लेख गरे। ड्युटीपछिको विश्राम र आधारभूत मानवीय सुविधाका लागि पनि उचित भवन संरचना आवश्यक रहेको उनले बताए। आइजिपी कार्कीका अनुसार विभिन्न स्थानबाट अस्थायी प्रहरी चौकी स्थापनाको मागसमेत आउने गरेको छ। यस्ता मागप्रति प्रहरी संगठन संवेदनशील रहेको र सुरक्षा दृष्टिले अत्यावश्यक ठानिएका क्षेत्रमा तत्काल जनशक्ति परिचालन गरिँदै आएको उनले जानकारी दिए। प्रहरी संगठनले देशभर सुरक्षा सेवा प्रभावकारी बनाउन पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेको भए पनि सीमित स्रोत-साधनका कारण चुनौती सामना गर्नुपरेको आइजिपी कार्कीको भनाइ छ।


















