मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिको राप्रपाद्वारा आलोचना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिएको छ।राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु नभई कानुन उल्लंघन, लापरवाही र जनताको कामप्रति बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहीले जनताको सेवामा रहेर पनि जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने तथा राज्य प्रणालीलाई कमजोर बनाउने व्यक्तिहरूमाथि कानुनी दायराभित्र रहेर कडा कारबाही आवश्यक रहेको उल्लेख गरे। उनले जनताले परिणाममुखी कामको अपेक्षा गरेको भन्दै बहानाबाजी र गैरजिम्मेवारीलाई संरक्षण गर्ने समय सकिएको बताए। सुशासन, अनुशासन र जवाफदेहितामूलक कार्यसंस्कृति स्थापना नगरी देशले अपेक्षित गति लिन नसक्ने उनको भनाइ छ।

शाहीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिलाई निरुत्साहित गर्दै कानुनअनुसार उत्तरदायी बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।