नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले पार्टी परित्याग गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले खराब स्वास्थ्यका कारण पार्टीबाट अलग हुने निर्णय गरेको बताएका हुन्। विज्ञप्तिमा महराले आफू लामो समयदेखि नसाहरू खुम्चिने ९एट्रोफी० रोगबाट पीडित रहेको र नियमित उपचारका कारण पार्टीलाई आवश्यक समय दिन नसकेको उल्लेख गरेका छन्। सक्रिय रूपमा पार्टी कार्यमा संलग्न हुन नसक्ने अवस्था भएकाले पार्टीबाट बिदा लिएको उनले स्पष्ट पारेका छन्।
महराले आफ्नो निर्णय कुनै गुनासो, असन्तुष्टि वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाका कारण पार्टी त्यागेको बताएका छन्। पछिल्लो समय महरा सुन तस्करी प्रकरणसँग सम्बन्धित मुद्दा खेपिरहेका छन्। प्रकरणमा आफूलाई जोगाउन अध्यक्ष प्रचण्डसहित पार्टीले साथ नदिएपछि महरा असन्तुष्ट बनेको चर्चा चलेको थियो । यद्यपि विज्ञप्तिमा महराले आफूले खराब स्वास्थ्यका कारण मात्रै पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।
महराले आफू ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको उल्लेख गर्दै नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिस्ट पार्टीसम्मको राजनीतिक यात्रामा आफ्नो क्षमता अनुसार जनताको सेवामा समर्पित भएको बताएका छन्।
आफ्नो लामो राजनीतिक यात्रामा साथ दिने सहकर्मी, नेता–कार्यकर्ता, शुभेच्छुक, जनता तथा परिवारप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्। महरा तत्कालीन माओवादी आन्दोलनका प्रभावशाली नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्रका रूपमा चिनिन्थे। शान्ति प्रक्रियापछि उनी पटक–पटक मन्त्री बनेका थिए भने एकपटक प्रतिनिधिसभाको सभामुखको जिम्मेवारी पनि सम्हालेका थिए।















