उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ । प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो । इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको खेलअघि मेक्सिकोको तिजुआनास्थित आफ्नो प्रशिक्षण शिविरबाट दुई दिनअघि नै अमेरिकातर्फ जान अनुमति मागेको थियो । तर महासङ्घका अनुसार उक्त अनुरोध अस्वीकार गरिएको छ ।
इरानी फुटबल महासङ्घका प्रवक्ताले प्रतियोगिताका लागि आवश्यक तयारी समय पहिल्यै बुझाइसकिएको भए पनि आयोजक पक्षले फेरि यात्रा प्रतिबन्ध लगाएर प्राविधिक तयारी प्रभावित पारेको बताए । उनका अनुसार टोलीले खेलअघि लस एन्जलस पुगेर वातावरणसँग अनुकूलन गर्न, अन्तिम अभ्यास पूरा गर्न र रणनीतिक तयारी टुङ्ग्याउन चाहेको थियो ।
प्रवक्ताले खेल स्थानीय समयअनुसार दिउँसो १२ बजे सुरु हुने भएकाले टोलीलाई दुई दिनअघि नै स्थानमा पुग्ने अनुमति मागिएको तर उक्त अनुरोध अस्वीकार गरिएको बताए । उनका अनुसार महासङ्घले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी गर्ने प्रक्रिया अघि बढाउनेछ ।
इरानले यसअघि पनि प्रतियोगिताको पहिलो खेलपछि लस एन्जलसबाट तत्काल बाहिरिन बाध्य हुनुपरेको भन्दै असन्तुष्टि जनाएको थियो । न्युजिल्यान्डसँग २–२ को बराबरीपछि टोलीको बसाइ व्यवस्थापनमा कठिनाइ भएको इरानी पक्षको दाबी छ । उता, अमेरिकी प्रशासनले इरानको आरोपलाई अस्वीकार गरेको छ । ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु जुलियानीले इरानी टोलीलाई खेलअघि एक दिन मात्र अमेरिका प्रवेश अनुमति दिइएको र खेल सकिएको दिन नै प्रस्थान गर्नुपर्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ ।
उनका अनुसार यही प्रक्रिया लस एन्जलसमा हुने खेल र सियाटलमा इजिप्टविरुद्ध हुने अन्तिम समूह खेलमा पनि लागू हुनेछ । मध्यपूर्वमा जारी युद्धका कारण इरानको विश्वकप तयारीमा पहिले नै चुनौती देखिएको थियो । प्रतियोगिता सुरु हुनुअघि नै इरानले आफ्नो प्रशिक्षण शिविर एरिजोनाको टक्सनबाट मेक्सिकोको सीमावर्ती सहर तिजुआनामा सार्नुपरेको थियो । साथै, टोलीका १५ जना अधिकारीलाई अमेरिकी भिसा अस्वीकृत गरिएको पनि इरानी पक्षले जनाएको छ ।


















