धर्म र अध्यात्म १५

गङ्गा दशहरा

जेठ महिना अधिकमास पर्नाले आषाढ २ देखि शुद्ध ज्येष्ठ शुक्ल पक्ष शुरु हुँदा यसैपक्षमा पर्ने गङ्गा दशहरा आषाढ १० गते परेको छ ।
ज्येष्ठेमासि सिते पक्षे दशम्यां बुधहस्तयोः। व्यतीपाते गरानन्दे कन्याचन्द्रे बृषे रवौ ।। दशयोगे नर स्नात्वा सर्व पापैः प्रमुच्यते । नमोभगवत्यै दशपापहरायै गङ्गायै नारायण्यै।। रेवत्यै शिवायै दक्षायै अमृतायै विश्वरुपिण्यै नन्दिन्यै ते नमोनमः । ज्येष्ठे मासि सिते पक्षे दशमी हस्तसंयुता । हरते दश पापानि तस्माद्दशहरा स्मृता ।।
बृषराशिका सूर्य, कन्याराशिका चन्द्रमा, व्यतीपातयोग, हस्तानक्षत्र, बुधबार, शुक्लपक्ष, दशमीतिथि जेठ शुक्ल बिभिन्न दशयोग मिलेको पावन दशहरामा पावनतीर्थमा स्नानगर्नाले मानिसका सबै खाले पापहरु नास हुन्छन् । पाप भन्नु प्रदूषण हो, तन, मन, धनको विकार, अर्थात् प्रदूषण । मानिसका १० इन्द्रियहरु छन्, मन, बुद्धि र अहंकारसमेत १३ तत्वहरुले सदैव खरावीहरु गरिरहेका हुन सक्छन् । त्यसलाई शुद्ध पार्ने दिन हो दशहरा । यो पर्व मूल रुपमा यसपालि ०८३ साल आषाढ १० गते परेको छ, तर यो पर्व १० दिन लामो हुने हुँदा असार २ देखि नै शुरु भएको छ ।
मानिसले गर्ने सबै किसिमका दुष्कर्महरुलाई ३ भागमा बिभाजन गरेर हेर्ने गरिन्छ (क) कायिक (ख) वाचिक र (ग) मानसिक । कायिक भन्नाले शरीरद्वारा हुने दुष्कर्म हो । अर्काको कुनै बस्तु आपूmले बिना स्वीकृति ग्रहण गर्नु, हिंसाजन्य कार्य गर्नु, कामासक्त हुनु शारीरिक पाप हो । कठोर वाणी, भ्रामक कुरा गर्नु, मित्थ्याभाषण, अर्काको निन्दा, छिद्रान्वेषण गर्नु वाचिक दुष्कर्म हुन् । मानसिक पाप भन्नाले अरुको हितमा ठेस पुग्ने कार्य, अरुप्रति दुराग्रह अरुप्रतिको हानि नोक्सानी मनले गर्ने कुनै खरावी हो ।
मानिसका १० इन्द्रियहरुले गर्ने पापहरु प्राय आपूmलाई थाहा नभएरै पनि भइरहेको हुन्छ । गङ्गा दशहरामा पर्ने बिशेष पर्वमा स्नान, दान गर्नाले, भागिरथी, गङ्गा, यमुना वा पवित्र कुनै जलाशयमा स्नान गर्नाले इन्द्रियजन्य दोषहरुवाट मुक्ति मिल्छ । त्यतिमात्रै होइन पावनी गङ्गाको सयौँ योजन परबाटै नामोच्चारण गर्नाले मानिस सबै खाले पापबाट मुक्ति हुने कुरा विभिन्न धर्मशास्त्रहरुमा वर्णित छ । प्राण निस्कने बेला गङ्गाको नाम लिनेले फेरि आमाको गर्भमा बास लिएर विभिन्न कष्ट सहनु नपर्ने भनी शास्त्रहरुमा पुष्टि भएको छ । पृथ्वीका प्राणीहरुलाई सद्गति प्रदान गर्न धर्तीमा गङ्गा अवतरण भएको दिनलाई गङ्गा दशहरा भनिन्छ ।
कथानकको सार
(निरन्तरको प्रयत्नले नै लक्ष्यमा पुग्न सकिन्छ)
सत्ययुगमा सूर्यवंशी राजा सगर थिए, गर्भबाट विष सहित जन्मेकाले उनलाई सगर भनियो । उनी वीर, प्रतापी, दानी, ज्ञानी र धार्मिक एवं कर्मकाण्डमा बिश्वास गर्ने प्रतापी थिए । उत्तर हिमालयदेखि दक्षिण समुद्रतट सम्म एक छत्र एवं बिशाल राज्य भएका राजा सगरका छोरा थिए असमाञ्जस । उनी वैरागी भई राजप्रासाद छोडेर वनमा बसेका थिए । वनमा एक कन्यासंग बिहे गरी उतै बस्थे ती । आप्mनो जेठो छोराले राजधर्म पालन नगर्ने देखेर सगरले पुत्रेष्टि यज्ञ गरेर राजाले ६० हजार छोरा एकैपटक प्राप्त गरे । पुत्रहरुकै बलवाट राजा पृथ्वीकै लागि चक्रबर्ती सम्राट बन्न पुगे । वीरता प्रदर्शनका लागि १०० अश्वमेध गर्न लागे । ९९ यज्ञ पूरा हुँदा स्वर्गका राजा इन्द्र डराएर यज्ञ भङ्ग गर्ने प्रयास गरे । सगरले संसार बिजयका लागि यज्ञमा छोडेको घोडा इन्द्रले चोरेर लगे । स्वर्गमा त्यो घोडा राख्न नमिल्ने भएकाले सागरतटमा तपस्यारत कपिल आश्रममा त्यो घोडा छोडिदिए । उता सगर पुत्रहरु घोडा खोज्न पृथ्वीतटमा घुम्दा सागरतटको कपिल आश्रममा घोडा देखेपछि घोडाचोर यहीँ रहेछ भन्दा कपिल मुनिको ध्यान भङ्ग भयो । कपिलमुनिको तेस्रो आँखावाट निस्केको क्रोधाग्निका कारण सगरका ६० हजार पुत्रहरु त्यहीँ भष्म भए ।
६० हजार पुत्रहरु फर्केनन्, सगर चिन्तित भए । उनले अघि वनबास गएका असमाञ्जसलाई स्मरण गरे । वनमै विहे गरी उनले पुत्र अंशुमानलाई जन्म दिएका रहेछन् । असमाञ्जसको मृत्यु भइसकको रहेछ । सगरले नाति अंशुमानलाई बोलाए । उनले अश्वमेध यज्ञ गर्ने क्रममा आप्mना पुत्रहरु ६० हजार नष्ट भएको, घोडा हराएको सबै वृत्तान्त सुनाए । अंशुमानले आफ्ना काकाहरु खोज्न हिंडे । दक्षिणक्षेत्र सागरतटमा पुगेका अंशुमानलाई त्रिकालदर्शी कपिलले सारा वृत्तान्त बताएर मेरो ध्यान भङ्ग गर्ने तिम्रा काकाहरु यहीँ डढेर खरानी भएका छन् र यिनको उद्धार गर्ने इच्छा भए स्वर्गमा रहेकी गङ्गालाई अवतरण गराऊ ।
पुत्रशोकले बिह्वल भएका राजा सगरले राज पाठ अंशुमानलाई बुझाएर माता गङ्गाको आराधना गर्दा गर्दै वनमा देहत्याग गरे । आप्mना पुर्खा सगरले देहत्याग गरेको सुनेर अंशुमान विरक्तिए । गङ्गा अवतरण गराउने प्रयत्न थियो तर सकेनन् । उनका पुत्र थिए दिलिप, छोरालाई राज्य दिई वनमा तप गर्न हिँडे । केही समयपछि दिलिपको पनि अवसान भयो । दिलिपका पुत्र थिए भगीरथ । उनलाई याद भयो आप्mना पुर्खा सगर, अंशुमान, दिलिप ३ पुस्ताको प्रयत्न खेर गएको । धर्तीमा गङ्गा अवतरण गर्न नसक्नुको कारण बुभ्mदा उनलाई स्पष्ट भएछ – गङ्गा भगवान् श्रीबिष्णुको पाउमा बस्ने र श्रीविष्णुको सेवा बिना गङ्गा अवतरण नहुने रहेछ ।
भगीरथ अव आफ्नो राज्य पुत्रलाई सुम्पेर केवल वायु आहार गर्दै हिमालयमा हजारौं वर्षसम्म तप गर्न लागे । लामो समयको कठोर तपका कारण भगीरथका नाकका प्वालहरुबाट अग्निका ज्वाला निस्कन थाले । यो देखेर देवताहरु डराएर त्यो अग्निको ज्वालाको केन्द्र पत्तो लाउने क्रममा भगीरथको नाकको प्वाल पत्ता लगाए । भगीरथको उद्देश्य थाहा भयो अब । देवताहरु क्षीर सागरबासी श्रीविष्णुलाई गुहार माग्न थाल्दा भगीरथको इच्छा पूरा गर्न भगवान् स्वयं प्रकट हुने भए । भगीरथले भगवानसंग वरदान मागे आप्mना ६० हजार पुर्खालाई बचाउन गङ्गालाई धर्तीमा पठाउन अनुरोध भयो । श्रीविष्णुले हुन्छ भन्नु भयो तर गङ्गा ब्रह्माकी छोरी हुन् पिताको स्वकिृति लिनु पर्छ भन्ने कुरो भयो । यिनलाई अवतरण गराउन ब्रह्माको पुकार गर्नु पर्ने भनिदिनुभयो ।
श्रीबिष्णुको वरदान र स्पर्शले बलिया भए भगीरथ । यनी ब्रह्मदेवको आराधना गर्न थाले । ब्रह्मदेव खुसी भए हुन्छ भनिदिए । तर जानेको पनि त इच्छा हुनु पर्ला नि, गङ्गालाई एकपटक सोधेर हेर भनिदिनुभयो । भगीरथले गङ्गाको प्रार्थना गरे । गङ्गामा अहँकार थियो । उनले भनिन् मेरो बेग सहने सामथ्र्य केवल शिबजटा मात्र हो, तिमीले शिबजीको तप गर । भगीरथले शिव आराधना गरे, गङ्गा शिव जटामा झरिन् । शिवले गङ्गाको अहँकार तोड्न गङ्गालाई जटाभित्रै लुकाइदिनु भयो । भगीरथलाई झन् ठूलो समस्या थपियो । रौद्ररुप शिवको जटाभित्र रहेकी गङ्गा धर्तीमा अवतरण गराउने प्रयत्नमा लागेका भगीरथले फेरि श्रीशिबको आराधना गर्न लागे । शिबको आज्ञा समेतले अव गङ्गा धर्तीमा आउने भइन् तर उनलाई डर थियो श्रीविष्णुको सेवा गर्न नपाइने भयो । श्रीविष्णुले त्रेतायुगमा श्रीरामअवतार लिने र अयोध्याबाट वनबास जाने क्रममा गङ्गातटमा बिश्राम लिने र त्यसवेला गङ्गाले भगवान्को चरण धुने । यसरी सम्पूर्ण योजना बनाउँदा गङ्गालाई अझ अर्को शंका थपिएछ । पृथ्वीमा दुष्ट पापीहरु धेरै हुने र उनलाई अपवित्र पार्ने, जताततै प्रदूषित पार्ने त्यो डरबाट कसरी मुक्त गर्ने त ? भन्ने प्रश्नमा भगीरथले भनेछन् ‘हे गङ्गे डराउनु पर्दैन, मत्र्यलोकमा पुण्यात्माहरु पनि हुनेछन्, साधु, सन्त, गायत्री उपासक, धर्मात्मा, देवपूजक, सन्यासी, ब्रह्मचारी, विरक्त गृहस्थ आदि आदि । उनको स्पर्शले तिमी पवित्र हुनेछौ चिन्ता नगर’ ।
भगीरथको ४ पुस्ताको प्रयास, स्वर्गमा सम्पूर्ण सहमतिपछि ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा धर्तीमा अवतरित हुनु भयो कैलाश हिमालय पर्वतबाट । गङ्गा दशहरा भनिने यस पर्वका दिन गङ्गोत्रीमा शिबजटाबाट प्रथम धारा खसेको गङ्गा गङ्गोत्री, ऋषिकेश, हरिद्वार, प्रयाग, हरिहरक्षेत्र हुँदै दक्षिणतट कपिलआश्रम पुग्नुअघि तप गरी रहेका जह्नु ऋषिले पिइदिए, सुकिन् गङ्गा, फेरि आपत् आइलाग्यो, पछि ऋषिको तिघ्रा मथेर गङ्गालाई लग्नु पर्ने भएपछि, जह्नुबाट पैदा हुँदा उनको नाम जाह्नवी भयो, अगाडि गङ्गासागर पुगेर सगरपुत्र ६० हजार खरानीको थुप्रोलाई स्पर्श गरी सबैलाई बचाई, उद्धारगरी जलधारा सागरमा मिल्न पुग्यो । देवलोकमा गङ्गाको स्थायी निवास भने अघि वामन अवतार श्रीबिष्णुलाई तीन पाउ भूमिदान गर्दा एक पाउले भूलोक ढाकेको र अर्को पाउले आकाश ढाक्दा पाउको बूढी औंलो ब्रह्मलोकमा देखेर ब्रह्मदेवले आप्mनो कमण्डलु जलले पाउ धोएर श्रीहरिको स्तुति बन्दना गर्दा स्वर्गमा गङ्गाको उदय भएको थियोे । गङ्गाको उदय यो कथा अघि श्रीशिबले प्रिया पार्वतीलाई, श्रीकृष्णले राधारानीलाई बताउनु भएको थियो ।
भारतको कोलकता पर गङ्गासागरको अतिरिक्त भारतवषर््ामा रहेका हजारौँ तीर्थलाई पावन मानिन्छ भने स्कन्दपुराण नेपाल माहात्म्यमा हिमालयक्षेत्रबाट बग्दै आएकी पावनी गङ्गाको अनेकौँ चर्चा भएको पाइन्छ । मनुस्मृतिदेखि, ऋग्वेद र अनेकौँ पौराणिक साहित्यहरुले गङ्गाका बारेमा बिशद् चर्चा गरेका छन् । आधुनिक जगत्ले कपोलकल्पित कथा भनी पौराणिक चिन्तनलाई दूराशय व्यक्त गरे पनि गङ्गाजल निर्विषाक्त रहेको, लामो समयसम्म एक ठाउँमा राख्दा कीटाणु प्रवेश नभएको, गङ्गाजल अन्यत्र हाल्दा पनि हालिएको बस्तु कीटाणुरहित भएको पाइएकोले आधुनिक विज्ञान पनि यसलाई मान्न नतमस्तक भएको छ । मानिस रोगी भएका बखत, घाट लगेका बखत या अन्य बेलामा पनि घरमा, पूजा कोठामा गङ्गाजल राख्दा बातावरण नै सकारात्मक हुने कुरा अध्यात्म र भौतिक दुवै क्षेत्रका व्यक्तिहरु बिश्वस्त भइसकेका छन् । श्रीमद्भागवत एवं देवीभागवतमा गङ्गाका बिषयमा धेरै चर्चा भएको छ । वाराहपुराण, स्कन्दपुराण एवं श्रीमद्भागवतले पावनी गण्डकीको उद्गमस्थल दामोदरकुण्डको बिषयमा चर्चा गरेका छन् । दामोदर हिमालयवाट निःसृत हिमनदी पग्लिएर बनेको ताल दामोदरकुण्ड हो । द्वापरयुगमा श्रीकृष्ण माता यशोदाको दाम्लोमा बाँधिदा नारद श्रापबाट कुवेरपुत्र नलकुवर र मणिग्रीव क्रमशः यमल र अर्जुनवृक्ष भइरहेका र उद्धारको प्रतिच्छामा रहँदा उर्गल गुडाउने क्रममा बलले ढलेका दुर्इ वृक्षहरुबाट दुई दिव्य महापुरुषहरुको उदय भएको र मुस्ताँगको दामोदर कुण्डमा गई स्नान, दान, कर्म कार्य गरी आफू निरहंकारी रहन भगवान् श्रीकृष्णले उनीहरुलाई उपदेश गर्नु भएको प्रसङ्गले दामोदर कुण्डको महत्व बृद्धि भएको र सो दामोदर कुण्डवाट बगेकी कालीगण्डकी र मुक्तिनाथ धामबाट बगेकी गण्डकीको सङ्गम कागबेनी रहेको र गण्डकीको नामकरण भगवान्को गण्डस्थलबाट उदय भएकोले हो । देबी पार्वतीका देव्रे पाउबाट पसीनास्वरुप पैदा भएकी गण्डकी र रसुवाको गोसाइँकुण्डस्थित श्रीशिबका त्रिशूलबाट पैदा भएकी त्रिशूलीको सङ्गम देवघाटक्षेत्र नेपालको आदि प्रयाग मानिन्छ ।
बिष्णुप्रिया गण्डकी एवं शिबप्रिया त्रिशूलीको सङ्गम नारायणीको देवघाटक्षेत्र नेपालको आदि प्रयागहँुदै दक्षिण सिमाना बग्दै आएकी गङ्गा भारतको बिभिन्न क्षेत्रहरुलाई पावन गराउदै अन्ततः गङ्गासागरमै पुगेर मिसिन्छिन् । भारतका अनेकौं पावन तट अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका, पुरी, द्वारावती, जगन्नाथपुरीझैं नेपाली भूभागमा प्रसिद्ध सप्त कोशीतट वराहक्षेत्र, जनकपुरक्षेत्र, पशुपतिक्षेत्र, कर्णाली र महाकालीक्षेत्र अनगिन्ती धाम र तीर्थक्षेत्रहरु छन् । वैदिक साहित्यमा वर्णित आदिम तीर्थक्षेत्र र बिभिन्न धामहरुमध्ये पूर्वको वराहक्षेत्र, वागमतीतट पशुपतिक्षेत्र, गण्डकीको तट रुरुक्षेत्र र गण्डकीको शिरोभाग मुक्तिक्षेत्रलाई नेपालका प्रसिद्ध चारधाम मानिएको छ ।