नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गैरकानूनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ।
पौडेलकी पत्नीले दायर गरेको रिटमा उनलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधका आधारमा पर्याप्त प्रमाणबिनै पक्राउ गरिएको उल्लेख गर्दै तत्काल रिहा गर्न अदालतसँग माग गरिएको छ। रिटमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहबीच भएको शेयर कारोबार प्रकरणमा कथित मध्यस्थताको आरोप लगाएर पौडेललाई नियन्त्रणमा लिएको उल्लेख छ। उक्त आरोपसँग सम्बन्धित बयानका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
यसैबीच, सम्बन्धित अदालतले पौडेलमाथि थप अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। एमाले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतमा एक कार्यक्रममा सहभागी भइरहेका बेला पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही रात काठमाडौं ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।पौडेलको पक्राउलाई लिएर राजनीतिक वृत्तमा बहस चर्किएको छ भने सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइलाई चासोका साथ हेरिएको छ।


















