रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार रुपैयाँ ठगीको आरोप

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष आङबाबु राईमाथि एक बचतकर्ताले ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको आरोप लगाएकी छन्। पीडित सानु सापकोटाले आफूले सहकारीमा बचत गरेको रकम निवर्तमान अध्यक्ष राईले फिर्ता नगरेको भन्दै सहकारीका वर्तमान अध्यक्षलाई काठमाडौं महानगरपालिकामा उजुरी दिएकी हुन्। उजुरीमा राईले ‘राम्रो ब्याज दिन्छु’ भन्दै विभिन्न समयमा रकम लिएर सहकारीको पासबुकमा जम्मा गरिदिएको देखाएता पनि पछि रकम फिर्ता नगरी सम्पर्कविहीन भएको उल्लेख छ।

सापकोटाका अनुसार राईले रकम फिर्ता गर्ने आश्वासनसहित २०७९ वैशाख १५ गते सिटिजन बैंक इन्टरनेसनलको नयाँबजार शाखाबाट २ लाख रुपैयाँको चेक दिएका थिए। तर उक्त चेक हालसम्म साटिन नसकेको र बाँकी रकमसमेत फिर्ता नपाएको उनको दाबी छ। उजुरीमा राईले विभिन्न मितिमा कुल ६ लाख ८३ हजार ८९१ रुपैयाँ लिए पनि फिर्ता गर्ने प्रतिबद्धता पूरा नगरेको उल्लेख गरिएको छ। रकम भुक्तानीका लागि दिइएको चेकसमेत बैंकबाट साटिन नसकेको भन्दै पीडितले आफू आर्थिक मारमा परेको बताएकी छन्।

सापकोटाले निवेदनमा आफू मात्र नभई अन्य बचतकर्ता र सहकारीका केही सञ्चालकसमेत पीडित भएको जानकारी पछि खुलेको उल्लेख गर्दै आफ्नो रकम फिर्ता गराउन र ठगी कसुरअन्तर्गत कानुनी कारबाही गर्न माग गरेकी छन्। यता, आरोपबारे निवर्तमान अध्यक्ष आङबाबु राईको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

p2

p3