स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही विषय, शैक्षिक संस्था र करियर छनोटमा सहयोग गर्ने उद्देश्यले Group of EduCratic (GoEd) को आयोजनामा ‘EduCLAVE 1.0’ भर्चुअल शैक्षिक मेला आयोजना हुने भएको छ।
आगामी शुक्रबार (अगस्ट २८) साँझ ६ :३० बजेदेखि ९ बजेसम्म जुममार्फत सञ्चालन हुने कार्यक्रममा विद्यार्थीले विभिन्न विश्वविद्यालय तथा कलेजमा उपलब्ध विषय, पाठ्यक्रम, छात्रवृत्ति, भर्ना प्रक्रिया, शुल्क तथा करियर अवसरबारे जानकारी लिन सक्नेछन्। कार्यक्रममा विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्। कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद, प्रश्नोत्तर तथा भर्चुअल परामर्शमा विद्यार्थीले उनीहरूसँग प्रत्यक्ष संवाद गर्दै आफूले अध्ययन गर्न चाहेको विषय, भर्ना प्रक्रिया, योग्यता, छात्रवृत्ति तथा रोजगारीका अवसरबारे प्रश्न गर्न सक्ने आयोजकले जनाएको छ।

बीबीए, बीबीएस, बीबीएम, बीआईएम, बीसीए, बीआईटी, बीए, बीएसडब्लू, इन्जिनियरिङ, होटल व्यवस्थापन, सूचना प्रविधि, विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञानलगायत विभिन्न शैक्षिक क्षेत्रबारे कार्यक्रममा जानकारी दिइनेछ। GoEd का अनुसार विद्यार्थीलाई केवल डिग्री हासिल गर्न प्रेरित गर्नुका साथै उनीहरूको रुचि, क्षमता र आवश्यक सीप पहिचान गरी सही शिक्षा तथा करियरको बाटो छनोट गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा सहभागिता निःशुल्क रहेको छ। इच्छुक विद्यार्थीले अनलाइनमार्फत दर्ता गरी जुमबाट सहभागी हुन सक्नेछन्।



















