रास्वपामा गुटबन्दीको प्रयास भएको मनिष झाको आरोप, कारबाही गर्न सभापतिलाई आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको आरोप लगाएका छन्। उनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कारबाही गर्न पार्टी सभापति रवि लामिछानेलाई सार्वजनिक रूपमा आग्रह गरेका छन्।

प्रथम महाधिवेशनस्थल चितवनमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकताबद्ध भएको दाबी गर्दै गुटबन्दीको प्रयासलाई पार्टीको हितविपरीत भएको बताए।उनले भने, “यदि संस्थापन पक्ष साँच्चै एकजुट भएको हो भने आदरणीय सभापति रवि लामिछानेज्यूलाई मेरो आग्रह छ, पार्टीभित्र गुटबन्दीको प्रयास गर्नेहरूमाथि आवश्यक कारबाही गर्नुस्।”

महामन्त्री पदको निर्वाचनअघि आफूले प्रतिनिधिहरूबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै झाले निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास पनि व्यक्त गरे। उनका अनुसार महाधिवेशन प्रतिनिधिहरूले पार्टीलाई सुदृढ बनाउने नेतृत्व चयन गर्ने अपेक्षा राखेका छन् ।