कांग्रेसले १५औं महाधिवेशन लक्षित गर्दै देशभर क्रियाशील सदस्यता विस्तार अभियान सुरु

नेपाली कांग्रेसले आसन्न १५औं महाधिवेशनलाई लक्षित गर्दै देशभर क्रियाशील सदस्यता विस्तार अभियान सुरु गरेको छ। विशेषगरी ३५ वर्षमुनिका युवालाई केन्द्रमा राख्दै पार्टीले सदस्यता संरचना विस्तार गर्ने योजना अघि सारेको हो। पार्टीले हाल कायम क्रियाशील सदस्य संख्याको करिब २५ प्रतिशत नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ। तीमध्ये अधिकतम युवाको प्रतिनिधित्व सुनिश्चित गर्न देशव्यापी अभियान सञ्चालन गरिएको कांग्रेसले जनाएको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। ती प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा बसेर समन्वय, सहजीकरण र अनुगमनको काम गर्नेछन्। उनका अनुसार पार्टीको उद्देश्य समावेशी समुदायसँगै ३५ वर्षमुनिका युवालाई प्राथमिकतामा राखेर सदस्यता विस्तार गर्नु हो।

उनले आवश्यकताअनुसार सदस्यता वितरणको समयसीमा पनि थप गर्न सकिने बताए। पौडेलले आगामी महाधिवेशनलाई ध्यानमा राख्दै संगठनलाई तल्लो तहदेखि नै पुनर्संरचना गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार वडा तहमा ३५ वर्षमुनिका युवा नेतृत्वलाई प्रोत्साहन गर्ने योजना समेत अघि सारिएको छ। पार्टीले १५ औं महाधिवेशनमा करिब तीन लाख नयाँ क्रियाशील सदस्य थप्ने अनुमान गरेको छ। हाल भने झण्डै ५ लाख ३८ हजारभन्दा बढी सदस्यले अद्यावधिक प्रक्रिया पूरा गरिसकेको र केही सदस्यहरूको विवरण प्रक्रियामा रहेको बताइएको छ।

त्यसैगरी, सदस्यता अद्यावधिकका लागि तोकिएको समयसीमापछि पनि दुर्गम क्षेत्र, उच्च हिमाली भेग र प्रवासमा रहेका कांग्रेस आबद्ध संगठनहरूमा प्रक्रिया व्यवस्थित गर्न काम भइरहेको पार्टीले जनाएको छ। कांग्रेसका अनुसार करिब ३५ हजार नयाँ सदस्यले स्वयं आवेदन दिएका छन् भने केही निर्वाचन क्षेत्रमा फारम भए पनि प्रणालीमा प्रविष्ट नभएको अवस्था समेत देखिएको छ। महामन्त्री पौडेलले देशभर ३४ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता विवरण सिस्टममा इन्ट्री नभएको उल्लेख गर्दै ती क्षेत्रहरूमा सुधार आवश्यक रहेको बताए।

पार्टीले केन्द्रीय प्रतिनिधिहरूलाई जिल्लागत जानकारी संकलन गर्न, वडा तहमा फोकल पर्सन तोक्न र संगठनात्मक संरचना मजबुत बनाउन निर्देशन दिएको छ। आगामी अधिवेशनमा ३५ वर्षमुनिका युवा नेतृत्वलाई वडास्तरदेखि नै स्थापित गर्ने योजना रहेको कांग्रेसले जनाएको छ।