रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छ : सांसद खालिद

राष्ट्रियसभाका सांसद मोहम्मद खालिदले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता नै खारेज गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले उक्त जिकिर गरेका हुन् ।सांसद खालिदले संघीयता जनताले बलिदान गरेर ल्याएकाले त्यसलाई कसैले पनि कमजोर बनाउने दुश्साहस गर्न नहुने बताए ।

उनले संघीयताको पक्षमा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले मत मागेको र जनताले अभूतपूर्व मत दिएकाले त्यसको पक्षमा काम गर्नुपर्ने उल्लेख गरे । ‘संघीयता कसैको दयामायामा आएको होइन । यो नेपाली जनताले एकात्मक शासनविरुद्ध लडेर, बलिदानी दिएर, जेल गएर, मुद्दा खेपेर संघीयता ल्याएको हो,’उनले भने ।