चीनका राष्ट्रपति सी र बेलारुसका नेता लुकासेन्कोबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग भेट गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । लुकासेन्को रुसका प्रमुख सहयोगी मानिन्छ ।

चीनको राष्ट्रिय टेलिभिजन प्रसारक सीसीटीभीका अनुसार राष्ट्रपति सीले बेलारूसी नेता लुकासेन्कोलाई भव्य डायोयुताई अतिथि गृहमा स्वागत गरेको हो ।
“‘चीन–बेलारुस सम्बन्धले अन्तर्राष्ट्रिय चुनौतीहरूको परीक्षा झेलेको’ छ तर यो अब ‘इतिहासको सबैभन्दा राम्रो कालमा प्रवेश’ गर्दैछ,” चीनको विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति सीले बेलारूसी समकक्षी लुकासेन्कोलाई दुई देशले ‘सबै क्षेत्रका स्रोतहरूलाई परिचालन गरेर ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को निर्माणलाई प्रवर्धन गर्नुपर्ने र व्यावहारिक सहयोगलाई समृद्ध बनाउनुपर्ने’ बताएको विज्ञप्तिमा उल्लेख छ ।

बेलारुसका नेताको यो भ्रमण गत हप्ता उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि भएको हो । सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले मस्कोलाई सन् २०२२ मा युक्रेन आक्रमणका लागि बेलारुसबाट बाटो दिन अनुमति दिएको थियो तर युद्धमा प्रत्यक्ष संलग्न हुने योजना अस्वीकार गरेको थियो ।

नाटोको पूर्वी सीमासँग जोडिएको बेलारुसले रुसको पछिल्लो आणविक क्षमतायुक्त मिसाइल ‘ओरेश्निक’ राखेको छ । चीनले द्वन्द्वभरि आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दै आएको छ, यद्यपि किएभका सहयोगीहरूले बेइजिङले गुप्त रूपमा मस्कोलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन् ।

नेता लुकासेन्कोले चिनिया राष्ट्रपति सीसँग पछिल्लो पटक सन् २०२५ को अगस्टमा भेट गरेको थियो । त्यसको केही दिनपछि उनी बेइजिङमा भएको ठूलो सैन्य कवाजमा सहभागी भएको थियो ।