उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौंदेखि थाती रहेको औद्योगिक क्षेत्रको भाडा बक्यौता उठाउने अभियानले उल्लेखनीय सफलता हासिल गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई साताभित्रै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम असुल गरेको जनाएको छ। मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयबाट तत्काल बक्यौता उठाउन निर्देशन दिएपछि लिमिटेडले सक्रिय रूपमा अभियान अघि बढाएको थियो। सोही क्रममा करिब ६३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र भाडा बुझाउन आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गरेका छन्।
लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगले वि.सं. २०४५ सालदेखि नै भाडा तिर्न बाँकी राखेका थिए। बक्यौता असुलीलाई प्रभावकारी बनाउन भाडा नतिर्ने उद्योगको विद्युत् आपूर्ति काट्ने निर्णयसमेत कार्यान्वयन गरिएको थियो। सुरुवाती चरणमै २०० भन्दा बढी उद्योगको विद्युत् लाइन काटिएकोमा बक्यौता तिरेपछि उनीहरूको लाइन पुनः जडान गरिएको छ। यद्यपि अझै भाडा नतिरेका ४५ वटा कम्पनीको विद्युत् आपूर्ति बन्द रहेको महाप्रबन्धक ओलीले जानकारी दिइन्।
लिमिटेडका अनुसार मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगको विद्युत् लाइन पुनः जडान नगर्न स्पष्ट निर्देशन दिएकी छन्। बक्यौता धेरै रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी रहेको छ। यी दुवै कम्पनीको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ।
लिमिटेडका अनुसार केही उद्योगबाट विभिन्न किसिमका दबाब आए पनि मन्त्रालयको स्पष्ट निर्देशन र कडाइका कारण छोटो अवधिमै ठूलो परिमाणमा बक्यौता असुल गर्न सफल भएको हो।



















