काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) ले पाँच कम्युनिस्ट पार्टीबीच एकताको प्रस्ताव अघि सारेको जनाएको छ। पार्टी अध्यक्ष महिन्द्र मल्लद्वारा जारी प्रेस विज्ञप्तिमा क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच वैचारिक तथा संगठनात्मक एकताको आवश्यकता औँल्याउँदै व्यापक बहसमा सहभागी हुन सबै इमानदार कम्युनिस्ट नेता, कार्यकर्ता तथा समर्थकलाई अपिल गरिएको छ।
विज्ञप्तिअनुसार विश्व राजनीतिक, आर्थिक तथा सैन्य परिस्थितिमा आएको परिवर्तनले नयाँ चुनौती र सम्भावना सिर्जना गरेको उल्लेख गर्दै मार्क्सवाद–लेनिनवाद–माओवादका आधारमा क्रान्तिकारी शक्तिहरूबीच एकता आवश्यक भएको जनाइएको छ। साथै, विगतका समाजवादी तथा नयाँ जनवादी क्रान्तिका अनुभवहरूको समीक्षा गर्दै नयाँ परिस्थितिअनुसार वैचारिक बहसलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिएको छ।
पार्टीले नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालबीच पार्टी एकताको प्रस्ताव अघि सारिएको जनाएको छ। उक्त प्रस्तावका सम्बन्धमा २०८३ जेठ १४ गते सम्बन्धित चार पार्टीका महासचिवहरूलाई औपचारिक पत्र पठाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टी एकता शीर्ष नेतृत्वको मात्र विषय नभई सम्पूर्ण इमानदार क्रान्तिकारी कम्युनिस्टहरूको साझा चासो र जिम्मेवारी भएको उल्लेख गरिएको छ। एकताका आधार, वैचारिक समानता र भिन्नता, संगठनात्मक प्रक्रिया तथा भावी कार्यदिशाबारे खुला र गम्भीर बहस आवश्यक रहेको पार्टीको धारणा छ।
विज्ञप्तिमा वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन, केही प्रमुख राजनीतिक नेतृत्व तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे पार्टीको राजनीतिक दृष्टिकोण पनि प्रस्तुत गरिएको छ। साथै, नयाँ परिस्थितिमा क्रान्तिकारी शक्तिहरूबीच एकता कायम गर्दै वैचारिक बहसलाई देशव्यापी रूपमा अघि बढाउन सबै पक्षलाई आह्वान गरिएको छ।



















