आरेन राईले भने– प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन पाँच वर्षसम्मै बोलिरहनुपर्ने हो ?

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै त्यसलाई सच्याउन प्रधानमन्त्री स्वयम् संसदको रोस्ट्रममा आएर स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।

उनले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ५६ कार्यान्वयन हुने वा नहुने भन्ने प्रश्न उठाउँदै प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन कहिलेसम्म सदनमा आवाज उठाइरहनुपर्ने हो भन्दै प्रश्न गरे । राईले राष्ट्रियताको विषयमा आफ्नो पार्टी एक इन्च पनि पछि नहट्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ हामीले कार्यान्वयन गर्ने कि नगर्ने ? प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिका विषयमा हामीले कहिलेसम्म फरक मत राखिराख्नुपर्ने हो ? एक वर्ष, दुई वर्ष वा पाँच वर्ष ?’ उनले भने, ‘राष्ट्रियताको सवालमा हामी एक इन्च पनि तलमाथि सर्दैनौँ । त्यसैले प्रधानमन्त्रीज्यूले सम्मानित सदनको रोस्ट्रममा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ ।’