सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा

साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) घटेको छ ।
गत साताको अन्तिम दिन शुक्रबार बजार ८.३० अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६२७ अंकमा कायम भएको छ । आज दिनभरजसो बजार रातो अंकमा रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । दुई कम्पनी मात्रै रहेको यो समूहमा पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी विशाल बजारको मूल्य ३.५० प्रतिशत घट्दा समग्र समूह प्रभावित भयो । बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्स छन् । यी तीन हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११.५५, बाराही हाइड्रोपावरको ४.०२ प्रतिशत बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत घट्यो । अघिल्लो दिन १५ प्रतिशत मूल्य बढेको नेपाल फाइनान्स आज ११.६४ प्रतिशत घट्यो । खानीखोला हाइड्रोपावरको ९.७२ तथा उपकार लघुवित्तको ६.४५ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल तथा शिवम् सिमेन्ट छन् ।