इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना लेबनानमै रहने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस अघि नै दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने बताएको छ ।
लेबनानमा प्रवेश गर्न कुनै पनि पक्षको अनुमति नमागेको उल्लेख गर्दै लेबनानमा रहनका लागि पनि कसैको अनुमति आवश्यक नपर्ने जनाउदै, काट्जको कार्यालयले विज्ञप्ति जारी गरेको छ । उहाँले दक्षिणी लेबनानमा इजरायली सेना लेबनानमा हेजबुल्लाहलाई निशस्त्र नगराउदा सम्म आवश्यक रहने कुरामा जोड दिएको छ ।
काट्जले इजरायली सेनालाई लेबनानका लागि एक बलियो सुरक्षा कवजको रुपमा वर्णन गर्दै सेनाले पश्चिममा भूमध्य–सागर देखि दक्षिणी लेबनानको अर्नुन नजिकैको ब्युफोर्ट क्यासलसम्म फैलिएको क्षेत्र र पूर्वमा माउन्ट हर्मन सम्मको क्षेत्र ओगटेको बताएको छ ।
उनले इजरायली सेना उत्तरी इजरायलको गालीलका बासिन्दाहरूलाई अनावश्यक छापा, गालाबारी र विभिन्न द्वन्द्व जन्य खतराहरूको कहर बाट जोगाउनका लागि निरन्तर सक्रिय रहेको बताएको छ ।
अंकारामा आयोजना भएको नेटो शिखर सम्मेलनमा बोल्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरे पछि दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता हुने विश्वास व्यक्त गरेको केहि समय पछि रक्षामन्त्री काट्जको यस्तो टिप्पणी आएको जनाइएको छ ।
सन् २०२४ नोभेम्बरमा सहमति भएको युद्धविरामले इजरायल र हेजबोल्लाह बीचको एक वर्ष भन्दा बढीको सीमापार गोलीबारीको अन्त्य गरेको जनाइएको छ यद्यपी इजरायलले लेबनानमा आक्रमणहरू जारी राखेको छ ।
इरान युद्धको बिचमा सन् २०२६ मार्चको सुरुमा फेरि लडाइँ भड्किएको थियो, हेजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको थियो र इजरायली सेनाले दक्षिणी लेबनानमा भूमिगत आक्रमण गरेको थियो ।
सन् २०२६ को जुनमा, इजरायल र लेबनान सुरक्षा सम्झौतामा पुगे, जस अन्तर्गत इजरायलले लेबनानको सेनालाई दुई क्षेत्र हस्तान्तरण गर्ने जनाइएको छ ।


















