धर्म र अध्यात्म १८ : अयन परिवर्तन

श्रीशाके १९४८, श्रीसंवत् २०८३ रौद्रनामको सम्वत्सर आषाढशुक्ल चतुर्थी तिथि, मघा नक्षत्र, व्यतीपात योग, वणिज करण, भृगुबार, १२ः२ को समय श्रीसूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै उत्तरायण, गृष्म ऋतु, आषाढ मास सकिएर दक्षिणायन वर्षा ऋतु, श्रावणमासको आरम्भ हुँदैछ ।
तिथिवारश्च नक्षत्रं योगः करणमेव च । पञ्चागस्य फलं श्रुत्वा गङ्गास्नान फलं लभेत् ।।

तिथि, बार, नक्षत्र, योग र करण मिलेर पञ्चाङ्ग बन्ने र यसको श्रवणले नदी, गंगा स्नानको फल मिल्छ । हरेक संक्रान्तिमा यस्तो श्रवण गर्नु पर्छ, नसके अयन परिवर्तन वा नव वर्ष प्रवेशको संक्रान्तिमा अनिवार्य नै श्रवण गनु पर्छ । वर्षमा १२ मास भनेझै अयन २ हुन्छन् । अहिले उत्तरायण सकिएर श्रावणदेखिको समय दक्षिणायन शुरु हुदैँछ र यो क्रम पौष मसान्तसम्म रहन्छ । अब बिस्तारै दिन छोटा र रात लामा हुनेछन् । वर्षमा ६ ऋतुमा यो वर्षा ऋतु भएकाले अधिक वर्षाको समय पनि हो यो । यो मासका देवता श्रीधर हुन् भने देवी कान्तिमती हुन्, कर्कटमा सूर्य महिनाभरि रहने, सिँह राशिमाा चन्द्रमा रहने र कर्कटमै गुरु वृहस्पति रहनेछन् । चन्द्रमा भने १२ राशिमा महिनाभर घुमिरहेका हुन्छन् ।

आज शनिबार योगिनी एकादशी व्रत पनि हो, स्मार्त र वैष्णव गरी दुई एकादशी व्रत परेकोमा हिजो स्मार्तहरु र आज वैष्णवहरुका लागि रहेको छ । पौरस्त्य दर्शनमा एकादशी को विशेष महत्व रहेको छ । वर्षमा कृष्ण र शुक्ल गरी २४ एकादशी रहेका हुन्छन्, सबैको उत्तिकै महत्व रहे पनि चतुर्मासका एकादशीहरु अझ बढी महत्वका छन् । जसमा तुलसी सार्ने आषाढ शुक्ल र तुलसी विसर्जन गर्ने कार्तिक शुक्ल क्रमशः हरिशयनी र हारिवोधिनीका नामले परिचित छन् । एकादशीमा सके कथा श्रवण, व्रतहरु राख्ने नसके सात्विक भोजन बा व्रत नै बस्ने, खानै परे पनि अन्न र खासगरी चामल र चामलको परिकार नखाने चलन छ । यो धर्म पनि हो । यसपालि यही आषाढ ३२ गते विहिबारदेखि गुरु अस्त हुने र श्रावण २४ आइतबार मात्र उदय हुनेछन् । यतिबेला काम्य कर्मलाई करिव निषेध गरिएको छ । धार्मिक, सत्संग, पूजाका कर्महरु गर्न मिल्छ, कामनापरक ठूला कार्यहरुका लागि यो समय पर्खनु पर्ने हुन्छ ।
अयन परिवर्तन र जसलाई कर्कट संक्रान्ति भनिन्छ, विहानै गुरहरुबाट महिना सुन्ने, मठ, मन्दिरको सेवा, दर्शन, पूजा, सत्संग गर्नु पर्छ जसबाट ६ महिनासम्मका लागि नवीन सोच, ऊर्जा प्राप्त होस् र सबैदिनहरु राम्रा होऊन् भनेर असल देवभक्त गुरहरुबाट आशीर्वाद लिने, मंगलवाचन, स्वस्तिवाचन गराउने घर पवित्र गराउने कार्य गरिन्छ, घरमा इष्टमित्र, छोरीवेटी बोलाउने शुभकामना साटासाट गर्ने गरिन्छ । थोरै दानले पनि ठूलो पुण्य मिल्छ । अतः संक्रान्ति, औँसी, पूर्णिमा तिथि पारेर सत्संग, सेवा, दान, पुण्य गर्ने चलन रहेको छ ।

कर्कट संक्रान्तिका दिन साँझ, कण्डारकको पूजा गरिन्छ । हिजोआज सहरिया परिवेशमा यो देखिन छोडेको छ । हामीसंग धेरै वनौषधिहरु छन्, थिए । हाम्र पुखाृहरु आफ्नो उपचार आफै गर्थे । खासगरी वषाको समय खेती को काम, हिलो मैलोमा रहँदा घाउ खटिराको डर भइरहन्थ्यो । अतः खेतबारीमा काम गर्नु पर्दा संक्रान्तिका दिन बेलुका कुरिलो र तीतेपाती आगोमा सल्काउने र अँगेनाबाट अगुल्टो झिकेर घरको चारैतिर लुत्तो लैजा भन्दै घुमाएर फाल्ने गर्थे, नाँग्लो ठटाउँथे, मेरो लुतो अरुलाई जाओस् भन्दै सबैले धपाउने गर्थे । लुतो चिलाउने रोग हो, हिलोले शरिर चिलाउने गर्दा यस्तो नहोस् भनी फाल्ने काम गर्थे । लुतो फालिसकेपछि अर्को वनस्पति कुकुरडाइनोको पात जलाएर त्यसको मलम बनाई सानातिना घाउ खटिरामा लगाउँथे । कुकुरडाइनो एक वनौषधि भएकाले केहीहदसम्म यसले रोग निको पनि हुन्थ्यो । अहिलेजस्तो वातावरण विषाक्त थिएन । हरेक अक्षरमा मन्त्र छन्, हरेक वृक्षमा औषधि छ र हरेक व्यक्तिमा ठूलै सामथ्र्य लुकेको हुन्छ भन्ने हाम्रो धर्म, अध्यत्मको मान्यता नै हो । हरेक देशको संस्कृति हुन्छ, संस्कार हुन्छ जसले आफ्नो पहिचान दिएको हुन्छ । हिजोआज हाम्रो यो मौलिक संस्कृति, संस्कारमा परिवर्तन आएको देखिन्छ ।

अन्त्यमा यही २९ गर्ते आदिकवि भानुभक्तको जन्मजयन्ती पनि हो । नेपाली साहित्य आकाशमा भानुभक्तको अतुलनीय येगदान छ । नेपाली भाषालाई नेपाली जन जनमा पुर्याए उनले । भक्तिरसले भरिपूर्ण रामको गाथा रामायण लेखेर हाम्रो सबै ग्रामीण परिवेशमा नेपाली भाषाको जग बसाले । जतिवेलासम्म नेपाली साहित्य वीर रसमा थियो, सुगौली सन्धिपछि हाम्रो सिमामा व्यापक कटौती हुँदा हाम्रो साहित्य वीर रसबाट भक्ति रसमा आयो र धर्मको साँच्चै उजागर गर्दै सत्य धर्मको खोजीको एकमात्र उपाय रामायणको अध्ययनतिर लाग्यो । त्यतिबेलाको परिवेश आजको आँखाले हेर्न मिल्दैन । भानुभक्तले घाँसीबाट प्रेरणा पाए र कविता लेखे । भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै पछि रहोस् भनेर कुवा खनायो, घाँसी दरीद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भइकन आज यस्तो ।