सञ्चारमाध्यमका कार्यालयमा गाडी पार्किङ गरी अवरोध गरेको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं। नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध तथा त्रास सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा पत्रकारका सवारीसाधन अवरुद्ध हुने गरी गाडी पार्किङ गरिएको जनाएको छ। यसका कारण पत्रकारलाई कार्यालय आवतजावतमा समस्या सिर्जना गरिएको पाइएको उल्लेख छ ।

अवरोध तत्काल हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सञ्चारमाध्यम र पत्रकारको अधिकार प्रयोगमा अवरोध पुर्‍याउने यस घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

महासंघले अवरोध हटाउने विषयमा सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिँदै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।