सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र प्रवर्द्धन सबै नेपालीको साझा दायित्व भएको बताएका छन्। २ सय १३ औँ भानु जयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल सम्झनामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।
उनले भानुभक्तले स्थापित गरेको भाषा, साहित्य र राष्ट्रिय चेतनाको परम्परालाई नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिएका छन्। सभामुख अर्यालले आधुनिक प्रविधिको तीव्र विकास, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक परिवेशका कारण नेपाली भाषा, संस्कृति र मौलिक पहिचान जोगाउने चुनौती थपिएको उल्लेख गरे। यस्ता चुनौतीका बीच पनि आफ्नो भाषिक र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै समयअनुकूल विकास गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।
उनले भानुभक्तले अपनाएको सरल, स्पष्ट र जनमैत्री अभिव्यक्तिको शैली आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै युवा पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न सिर्जनशीलता, नवप्रवर्तन र अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे। “आजको दिन भानुभक्तलाई सम्झने मात्र होइन, उहाँको आदर्श र योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प गर्ने अवसर पनि हो,” उनले भने। “भाषा, संस्कृति र राष्ट्रिय पहिचानको संरक्षण तथा प्रवर्द्धन हाम्रो सामूहिक दायित्व हो।”
सभामुख अर्यालले भानुभक्तको सम्मानमा गरिने प्रत्येक प्रयास नेपाली राष्ट्रियता, मौलिकता र सांस्कृतिक पहिचानको संरक्षणसँग जोडिएको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
Tags:


















