काठमाडौँ । देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा ठुलो क्षति पुर्याएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ८ः३० बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र भालु खोलामा पहिरो खसेका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, मकवानपुरको ईन्द्रसरोवरमा पहिरो जाँदा फाखेल–कुलेखानी सडक पनि बन्द रहेको छ । काभ्रेको विपि राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यद्यपि, हेटौँडा–काठमाडौँ जोड्ने भैँसे–भीमफेदी खण्ड र मुग्लिन–नारायणगढ सडक खण्डका पहिरोहरू हटाएर हाललाई यातायात पूर्ण रूपमा सुचारु गरिएको छ ।
कोशी प्रदेशमा मेची राजमार्ग (इलामको राजदुवाली) र मध्य पहाडी लोकमार्ग (पाँचथरको ओयाम र फलैँचा) पूर्ण रूपमा अवरुद्ध छन् । उदयपुरको कटारीमा सिद्धिचरण लोकमार्गका तीन स्थानमा पहिरो खसेकाले सडक ठप्प छ । भोजपुरमा भने मध्य पहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा छ । यता ओखलढुङ्गा र खोटाङका अवरुद्ध सडकहरू भने पूर्ण रूपमा सुचारु भइसकेका छन् ।
गण्डकी प्रदेशको सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको सुम्रेखोलामा पहिरो झर्दा सडक पूर्ण रूपमा बन्द भएको छ । कास्कीका ग्रामीण सडकहरू र म्याग्दीको बेनी–दरवाङ सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छन् । लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सालझण्डी–ढोरपाटन सडक र गुल्मीको कालीगण्डकी करिडोर (पुर्तिघाट) पूर्ण रूपमा अवरुद्ध रहेका छन् । गुल्मीकै मदन भण्डारी राजमार्ग भने एकतर्फी सुचारु छ ।


















